गाईतिहारका दिन महिला घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन्। यसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन लय हालेर खेलिने गीतलाई देउसी भनिने सांस्कृतिक कथन छ।
उज्यालै उज्यालो पर्व तिहारमा घर झिलीमिली पार्ने, मीठा पकवान खाने र नाचगान गर्ने परम्परा छ। तिहारमा दिदीबहिनीले दाइभाइलाई टीका लगाइदिने मात्रै होइन, देउसीभैलो खेलेर वातावरणलाई थप उल्लास र हर्षमय बनाइन्छ।
गाईतिहारका दिन महिला घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन्। यसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन लय हालेर खेलिने गीतलाई देउसी भनिने सांस्कृतिक मान्यता रहिआएको छ।
तिहार पाँच दिन मनाइन्छ, जसलाई यमपञ्चक पनि भनिन्छ। तिहार खासगरी रङ, फूलको झिलीमिली, प्रकृति पूजन र बत्तीको पर्व हो।
तिहारमा काग, कुकुर, गाई गोरु र भाइदाइको धुमधामसँग पूजाअर्चना गरिन्छ। औंसीको दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीपूजा गरिसकेपछि किशोरीहरूले भैलो खेल्ने गर्छन्। भोलिपल्ट गोरु–गोवर्द्धन पूजा गरेपछि देउसी खेल्ने देउसी देउसी गीत गाएर रमाइलो गर्छन्।
बूढापाका पुरानो भाकाले देउसी भट्याउँछ्न् भने युवायुवती पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्छन्।
‘देउसिरे’ देव श्रीरामबाट अपभ्रंश भएर आएको मानिन्छ। अयोध्यावासी (हाल भारत)ले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेका थिए। कालो रात दियोको उज्यालोले धर्ती जगमगाएको थियो। त्यसबेला भगवान् रामको नाम पुकार्दै मानिस घरटोल घुमेका थिए। यही प्रचलन अहिले देउसीको रूपमा विकास भएको सांस्कृतिक कथन छ।
सांस्कृतिक तथा धार्मिक कथनअनुसार बली राजा अति नै दानी थिए। प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे। उनको यो पुण्यको कामले ठूलो ख्याति पायो। उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले। त्यसपछि देवताहरू भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्न।
विष्णुले वामन (बाहुन्ने)को रुपधारण गरे बलीलाई छल्न पुगे। तीन पाउ जमिन दानको याचना गरे। बलीले सोचे, ‘यो ब्राह्मण सानो छ र यसको पाउ पनि साना छन्। उनले थोरै जमिन मागे।’ उनले दान दिने संकल्प गरे। लगत्तै वामनको रुप विराट भयो। एउटै पाउले समस्त पृथ्वी ढाकिदियो। अर्को पाउले अकास र तेस्रो पाउ पर्नसाथ बली भासिएर पाताल पुगे।
उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे–वर्षमा एकपटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस् ।यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए। अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वाससहित दीप प्रज्वलन गर्ने, देउसीभैलो खेल्ने गरिन्छ।
देउसेहरू बली राजा आउन नभ्याएको, आफूहरू बली राजाको हुकुमअनुसार आएको भन्दै देउसी भट्याउने गर्छन्।
यस्तै,समूहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो, जुन तिहार औंसीको दिन लक्ष्मीपूजा गरिसकेपछि घरघर गएर गाइन्छ। किशोर–किशोरी जम्मा भएर आफ्नो छिमेकीको घरघर गएर भैलो गीत गाउँछन्।
यो गीत गाउँदा साधारणतः एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू व्यक्ति मुख्य व्यक्तिको भैलेनी भन्दै गीतको अन्तसम्म अनुशरण गर्छन्। भैलो खेलेको घरबाट दान, सीधा र दक्षिणा दिन्छन्। त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना, आशीष र सेलरोटीमा दीप बालेर रकम दिन्छन्।
यस्तो हुन्छ भैलो गीत
भैलिनी आइन् आँगन, बढारी कुडारी राखन्
हे! औंसीको बारो, गाई तिहारो भैलो
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे! औंसीको बारो, गाई तिहारो भैलो
भैलिनी आइन् आँगन, गुनिया चोलो मागन्
हे! औसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै आएनौं, बली राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो
अरू दिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे! औंसीको बारो, गाई तिहारो भैलो
भैलिनी आइन् आँगन, गुनिया चोलो मागन
हे! औंसीको बारो, गाई तिहारो भैलो
घरबेटी आमा बोल्दै छन्, सुनको दैलो खोल्दै छन्
हे! औंसीको बारो, गाई तिहारो भैलो
छानामाथि घिरौला, के–के दिन्छिन् हेरौंला
हे! औंसीको बारो, गाई तिहारो भैलो
लक्ष्मीपूजाको राती भैलीका मुखमा सन्तोषी
हे! औंसीको बारो, गाई तिहारो भैलो
यो घरकी आमा कस्ती छन्, लक्ष्मी माताजस्ती छन्
हे! औंसीको बारो, गाई तिहारो भैलो
कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छन्
हे! औंसीको बारो, गाई तिहारो भैलो
धमिराको ताती, हामीलाई भो राती
हे! औंसीको बारो, गाई तिहारो भैलो
घोडा बान्ने तवेला, हामीलाई भयो अबेला
हे! औंसीको बारो, गाई तिहारो भैलो
दिने भए सिधा देऊ, नदिने भए बिदा देऊ
हे! औंसीको बारो, गाई तिहारो भैलो
जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मुरी, उसको सुनको धुरी
आहै, भन मेरा संगी हो– भैलेनी, आहै भट्याउनेको–भैलेनी आहै, सोरैमा ढाकी– भैलेनी
आहै रामरी भन– भैलेनी, आहै, आशीष दिनु– भैलेनी
आहै यसैमा घरको–भैलेनी, आहै, भडारमा– भैलेनी
आहै लक्ष्मीले–भैलेनी, आहै, बासै गरुन्– भैलिनी, आहै ढुंगामा छुँदा– भैलेनी, आहै, द्रव्य होस्– भैलेनी आहै, माटोमा छुँदा–भैलेनी, आहै अन्न बनोस्– भैलेनी, आहै, पानीमा छुँदा भैलेनी, आहै तेलमा बनोस्–भैलेनी
आहै, यसैमा घरका–भैलेनी, आहै घरबेटी बाबा–भैलेनी, घरबेटी आमा–भैलेनी, लाला र बाला–भैलेनी, केटा र केटी–भैलेनी, आहै, वरपीपलजस्तै–भैलेनी, आहै, तपिरहून्–भैलेनी
आहै, दुबोमा जस्तो–भैलेनी, आहै, मौलाइरहुन्–भैलेनी, आहै, नाम र कीर्ति–भैलेनी, आहै, फैलिमा रहोस्–भैलेनी, आहै, यसै घरमा–भैलेनी, आहै, सुख र शान्ति–भैलेनी, आहै, सधैमा रहोस्– भैलेनी...।
यस्तो हुन्छ देउसी गीत
आहै, भन मेरा भाइ हो, देउसुरे!
हे राम्ररी भन
देउसुरे!
आहै,स्वर मिलाई भन
देउसुरे!
आहै, भन न भन
देउसुरे!
आहै देउसिरे खेल्न
देउसुरे!
आहै आएका हामी
देउसुरे!
आहै बली राजाले पठाएर
देउसुरे! आदि
देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छे पनि निकै रमाइलो मान्छन्। टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीले देउसिरे घन्काउँदै सामूहिक रुपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो।
नाच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठी खोलेर दान दिन्छन्, मीठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बली राजाले पठाएको भन्ने गरिन्छ।
यो गीत गाउँदा साधारणतः एक जना मुख्य भट्याउने हुन्छन् र मण्डली समूहका अरू व्यक्ति मुख्य व्यक्तिको देउसिरे भन्दै गीतको अन्तसम्म अनुशरण गर्छन्।
देउसीभैलाे खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलश, फूल, अगरबत्ती, चामल, रुपैयाँ पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीज ल्याएर आँगन वा कौसीमा राखिदिन्छन्। मुख्य व्यक्तिलगायत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाच्छन्।