म्याग्दी। रघुगङ्गा गाउँपालिका ३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरिको सडक ट्रयाक खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत राहुघाटदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट-मौवाफाँट सडक मर्मत र स्तरोन्नती गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताए।
“झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन,” उनले भने, “तीन दशमलब पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन्।”
हाल प्रयोग भइरहेको घुमाउनेताल-पिप्ले-मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरिको छ। करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ।
यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा ४० लाखको लागतमा राहुघाटदेखि दशमुरे मौवाफाँट जोड्ने यो सडकमा मर्मत गरेको हो।
श्रमजिवी निर्माण सेवाले ठेक्का लिएको यो सडक मार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ।