धरान । कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ ।
सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनले बताए।
पशु चिकित्सक डा मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौँबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरिने उनकाे भनाइ छ ।
केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा उक्त मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको थियाे ।
सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ ।
यसरी सर्छ एन्थ्रेक्स
डा महतोका अनुसार एन्थ्रेक्स आनुवंशिक रोग भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिनसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ ।
यो माटो, हावा र पानीबाट सहजै सर्ने रोग हो । एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरमा रोगको उच्च जोखिम रहेको हुन्छ ।
मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने डा मेहताले बताए । रासस