काठमाडौं । जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि शर्मा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटमा आचार्यको उपचारमा लाग्ने खर्चमा सरकारले सघाउने बताएको शर्मा निकट सामाजिक अभियान्ता सन्दिप बस्नेतले क्यापिटल नेपाललाइ जानकारी दिए । ‘जीवन शर्मालाइ प्रधानमन्त्री ज्यूले बोलाएर उपचार खर्च कति लाग्छ । चिन्ता नगर्न भन्नुभएको छ ।’ उनले भने, ‘उपचार खर्च सरकारले बोहोर्ने प्रतिवद्धता पीएम ज्युले दिनुभएको छ ।’
त्यस्तै, नेकपा पार्टीले पनि जनगायक शर्माको छोराको उपचारका लागि सहयोग गर्ने जनाएको उनले बताए । ‘नेकपाले पनि पार्टी कार्यालयमा बोलाएर उपचार खर्चमा सहयोग गर्ने जनाएको छ ’ उनले भने, ‘उपचार अवधि लम्बिने भएकाले करोडभन्दा बढि खर्च लाग्ने देखिन्छ ।’
आचार्यको उपचारका लागि अहिले देशभरका विभिन्न सामाजिक संघसंगठन, संस्था, क्लवहरुले सहयोग रकम संकलन गरिरहेका छन् । तराइको केही जिल्लामा विभिन्न आमासमुह, क्लव, सोसाइटी, रक्तिंम समाज लगायतका संस्थाहरुले तिहारका बेला देउसी खेलेर उठाएको रकम जीवन शर्माको छोराको उपचारका खर्चका लागि जुटाउन थालेका छन् ।
स्थानीय, प्रदेश र संघीय नेता, सांसद देखि विभिन्न कर्मचारीले सहयोग गर्ने क्रम बढेको छ । यसैबीच तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो एक महिनाको तलवबापत ५० हजार नगद रकम उपचार खर्चका लागि सहयोग गरेका छन् । किसानले शिक्षण अस्पताल महाराजगंज पुगेर सहयोग रकम हस्तान्तरण गरेको जनाइएको छ ।
आचार्यको पहिलो शल्यक्रिया सम्पन्न भइ आन्द्राबाट खाना खुवाउन थालिएको छ । डाक्टरका अनुसार, प्रोटिनको कमीका कारणले आन्द्राको घाउँ निको नभएसम्म पाइपबाटै खाना खुवाउनुपर्छ । अप्रेसन पछि करिव ६ महिना आराम गर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ ।