काठमाडौं। नेपालमा उड्डयन क्षेत्रमा करिब एक दर्जन एयरलाइन्स कम्पनीहरु सञ्चालनमा छन्। जसमा व्यवसायको मुख्य प्रतिस्पर्धी भनेर बुद्ध, यति र श्री एयरलाइन्सलाई लिइन्छ।
यी एयरलाइन्स कम्पनीहरुले ५ वर्षमा पौने खर्ब बढीको व्यापार गरेको तथ्यांकले देखाएको छ। उल्लेखित एयरलाइन्स कम्पनीहरुले सम्बन्धित क्रेडिट रेटिङ एजेन्सीहरुलाई बुझाएको तथ्यांकअनुसार सन् २०२१ देखि सन् २०२५ को ६ महिनासम्म ७९ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बढीको व्यापार गरेका हुन्।
बुद्ध र यति र श्री एयरलाइन्सले कर्जा र सार्वजनिक निष्काशन प्रयोजनका लागि रेटिङ एजेन्सीहरु इन्फोमेरिक्स र इक्रा नेपालमा रेटिङ गराएका थिए। जसमा बुद्ध एयरले सन् २०२५ को ६ महिनासम्म गरेर २०२१ देखि हालसम्म ४६ अर्ब २४ करोड ६० लाख रुपैयाँ बढीको व्यापार गरेको छ।
श्री एयरलाइन्सले उक्त अवधिमा १५ अर्ब ७५ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको छ। यस्तै, एति एयरलाइन्सले भने सन् २०२१ देखि २०२५ को ९ महिनासम्म १७ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बढीको व्यापार गरेको छ।
यी ३ वटा एयर लाइन्सले सन् २०२१ मा कुल ६ अर्ब ११ करोड ५० लाख, सन् २०२२ मा १७ अर्ब ४७ करोड ७० लाख, सन् २०२३ मा २० अर्ब २० करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा २१ अर्ब ५५ करोड ६० रुपैयाँ बराबरको व्यापार गरेका थिए। सन् २०२५ को पछिल्लो तथ्यांकअनुसार भने यी कम्पनीहरुले १४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेका छन्।
आन्तरिक उड्डयनमा स्थापना कालदेखि नै राम्रो व्यापार गरेको बुद्ध एयरको अघिल्लो वर्ष ६३ प्रतिशत रहेकोमा बजार हिस्सा गत वर्ष ६० प्रतिशत रहेको थियो। साथै, बजार हिस्साको आधारमा दोस्रो स्थानमा रहेको यति एयरलाइन्सले गत वर्ष २१ प्रतिशत कायम गर्न सकेको थियो। जुन अघिल्लो वर्ष बजार हिस्सा १७ प्रतिशत रहेको थियो। गत वर्ष श्री एयरलाइन्सको बजार हिस्सा १६ प्रतिशत थियो। यो हिस्सा श्रीले स्थापना कालदेखि नै स्थायी रुपमा कायम गर्दै आएको रेटिङ रिपोर्टमा उल्लेख छ।
यी बाहेक नेपालको आन्तरिक हवाई उड्डयन क्षेत्रमा सिता एयर, सौर्य एयर, तारा एयर, समिट एयर, नेपाल एयर र गुना एयरलाइन्स पनि सञ्चालनमा छन्। यी कम्पनीमध्ये कतिले अहिले आफ्नो उडान बन्द समेत गरेका छन्। तर, एति, बुद्ध र श्री एयरलाइन्सकोे बजार हिस्सामात्रै ९८ प्रतिशत छ। बाँकी २ प्रतिशत बजार हिस्सा अन्य एयरलाइन्स कम्पनीको रहेको पाइन्छ।
नेपालको आन्तरिक हवाई उड्डयन क्षेत्रमा बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले स्पष्ट रूपमा प्रभुत्व जमाएका छन्। बजार हिस्सा, वित्तीय प्रदर्शन र सञ्चालनको हिसाबले यी तीन कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा र भिन्नताहरू रहेका छन्।
-1760869592.jpg)
बजार हिस्सा र वित्तीय अवस्था
बुद्ध एयरले आन्तरिक उडान बजारमा आफ्नो अग्रणी स्थान कायम राखेको छ। कम्पनीले ६० प्रतिशत बजार हिस्सा ओगटेको छ। जसले यसको व्यापक सञ्जाल र ठूलो यात्रु आधारलाई देखाउँछ। वित्तीय रूपमा पनि बुद्ध एयर निकै बलियो छ। सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको थियो भने, सन् २०२५को पहिलो ६ महिनामा मात्रै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेको छ।
बुद्धकोे तुलनामा, यति एयरलाइन्स र श्री एयरलाइन्सको बजार हिस्सा लगभग एकै तहमा छन्। यति एयरलाइन्सले २१ प्रतिशत र श्री एयरलाइन्सले १७ प्रतिशत बजार हिस्सा ओगटेका छन्। कारोबारको हिसाबले पनि यिनीहरू बुद्ध एयरभन्दा पछि छन्। सन् २०२४ मा यति एयरलाइन्सको कारोबार ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ थियो भने, सन् २०२५ को पहिलो ९ महिनामै यतिले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ।
श्री एयरलाइन्सले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख लाख रुपैयाँ थियो। भने, सन् २०२५ को पहिलो ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बढीको व्यापार गरेको छ। यद्यपि, यी तीन कम्पनीको समग्र बजार हिस्साले नेपाली आकाशमा तिनीहरूको एकाधिकार जस्तै स्थिति स्पष्ट पार्छ।
कम्पनीको स्थापना, नेतृत्व र स्वामित्व संरचना
यी कम्पनीहरूको स्थापना समय पनि फरक छ। श्री एयरलाइन्स (तत्कालीन एयर अनन्या) सन् १९९९ मा स्थापित भएको नेपालको सबैभन्दा पुरानो एयरलाइन्स कम्पनी हो। त्यसको लगत्तै सन् १९९६ मा बुद्ध एयर र सन् १९९८ मा यति एयरलाइन्स स्थापना भएका थिए।
नेतृत्व र स्वामित्वको सन्दर्भमा पनि भिन्नता देखिन्छ। बुद्ध एयरको नेतृत्व अध्यक्ष वीरेन्द्र बस्नेत ले गरिरहेका छन्। यता, यति एयरलाइन्सको मुख्य सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्समा (४६.८२ प्रतिशत) छ, भने अध्यक्षको भूमिकामा ल्हाक्पा सोनाम शेर्पा रहेका छन्।
यति एयरमा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ प्रतिशत सेयर स्वामित्व छ। यता, श्री एयरलाइन्स भने एकल सेयर स्वामित्वमा सञ्चालनमा छ। श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तल को ९९.८९ प्रतिशत सेयर लगानी छ।
जहाजको विविधता र सञ्चालनको ढाँचा
श्री एयरलाइन्सले फिक्स्ड–विङ जहाज (जेट र टर्बो प्रोप्स) का साथै हेलिकोप्टरहरू (एमआई–८ र एयरबस) पनि सञ्चालन गर्दछ। श्रीको कुल १० वटा बम्बार्र्डियर विमान सञ्चालनमा छन्। जसमा ३ वटा जेड र ७ वटा टर्बो प्रोप विमान हुन्। जसमध्ये २ वटा भाडामा लगाएको छ। साथै, श्री एयरले आन्तरिक उडानसँगै हेलिकोप्टर चार्टड सेवा पनि प्रदान गर्छ।
यति एयरलाइन्सले मुख्यतया ७२ सिट क्षमताका ७ वटा एटीआर विमानहरू सञ्चालन गर्छ। जसमध्ये ६ वटा कम्पनी स्यमले खरिद गरेको हो भने एक वटा भाडाको हो। यस्तै, बुद्ध एयरले नेपालका अन्तरिक रुडका साथै, भारतको बनारस र कोलकत्तामा पनि उडान गर्छ। कम्पनीको २ वटा एटीआर–४२ र १६ वटा एटीआर–७२ विमान सञ्चालनमा छन्।