काठमाडौं । सिमेन्टको उपभोक्ता मूल्य अत्यधिक भएको गुनासो आइरहेका बेला पाल्पा सिमेन्टले चमत्कारिक मूल्यसहित एक हप्ताभित्र आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।
कम्पनीले सिमेन्टको उपभोक्ता मूल्य सार्वजनिक नगरे पनि अहिले भइरहेको सिमेन्टको भन्दा धेरै कम मूल्य राखेर बजारमा ल्याउन लागेको हो । ‘पाल्पा सिमेन्टको मूल्यले उपभोक्ता मात्रै नभई उद्योगीलाई नै आश्चर्य पार्न सक्छ,’ पाल्पा सिमेन्टका प्रवन्ध निर्देशक राजेश अग्रवालले भने, ‘अहिले मूल्य सार्वजनिक नगरौ, तर धेरै कम मूल्यमा ओपीसी सिमेन्ट बजारमा ल्याउँदै छौं ।’
कारखाना निर्माण सुरु गरेको करिब २० महिनामा उद्योगले सिमेन्ट बजारमा ल्याउन लागेको हो । १४ महिनामा क्लिङ्कर बजारमा ल्याएको उद्योगले आगमी एक हप्ताभित्र सिमेन्ट पनि बजारमा ल्याउने भएको हो । ७ अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको हो ।
अहिले परीक्षणको रुपमा सिमेन्ट उत्पादन भइरहेको छ । उत्पादित सिमेन्टको गुणस्तर परीक्षण भइरहेको छ । एक हप्ताभित्र व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गरेर बजारमा ल्याउने अग्रवालले जानकारी दिए । सुरुमा क्लिङ्कर मात्रै बिक्री गरिहरेको पाल्पाले अबदेखि आफ्नै ब्रान्डमा सिमेन्ट पनि ल्याउने भएको हो ।
उनका अनुसार पाल्पा सिमेन्टले आफ्नो उत्पादन बिक्रीका लागि देशभर डिलर खडा गरिसकेको छ । ‘आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘व्यावसायिक रुपमा उत्पादन बजारमा आउन एक हप्ता लाग्ला ।’
दैनिक १ हजार ८०० टन क्लिङ्कर उत्पादन क्षमताको पाल्पा सिमेन्ट ग्रिन फिल्ड प्रविधिमा आधारित उद्योग हो । यो उद्योग नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत सिसियानीमा छ ।
आरएमसी समूह अन्तर्गत बाराको सिमरामा आरएमसी ब्राण्डमा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छ । यो उद्योगले प्रतिदिन ८०० टन सिमेन्ट उत्पादन गरिरहेको छ ।
समूहले राजेश मेटलक्राफ्ट ब्राण्डमा जस्तापाता उत्पादन गर्दै आएको छ । पाल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएसँगै आरएमसी समूह अन्तर्गत दुई ओटा सिमेन्ट उद्योग भएको छ । पाल्पाको उद्योगबाट पीपीसी र ओपीसी सिमेन्ट उत्पादन हुन्छ ।