किसानलाइ प्रतिगोटा अण्डा उत्पादनमा ३ रुपैयाँ घाटा, सरकार भन्छ, ‘छिट्टै ‘बेसरेट’ तोक्छौं’

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ फागुन २८, बुधबार,०१:३३:PM  
किसानलाइ प्रतिगोटा अण्डा उत्पादनमा ३ रुपैयाँ घाटा, सरकार भन्छ, ‘छिट्टै ‘बेसरेट’ तोक्छौं’

अण्डा उत्पादन किसानले प्रतिगोटा अण्डा उत्पादनमा ३ रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ । सरकारी अध्ययनकै क्रममा कृषकहरुले उत्पादन गरेको प्रत्येक अण्डा औसत ८ रुपैयाँ ६७ पैसामा विक्रि गर्नुपरेको र उत्पादन लागत भने ११.५३ पैसा पर्ने गरेको छ । यसबाट किसानलाइ २.८६ पैसा प्रतिगोटा अण्डामा घाटा हुने गरेको सरकारी अध्ययनले देखाएको हो ।

किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म आइपुग्दा १२.४३ रुपैयाँ तिर्नुपरेको छ । यसबाट उत्पादन स्थलबाट बजारसम्म आइपुग्दा अण्डाको मुल्यमा किसानलाइ ३ रुपैयाँ ६७ पैसा बढी तिर्नुपर्ने अवस्था छ ।  अध्ययन अवधिमा अण्डाको औसत फार्म गेट मुल्य ८.६७ रुपैयाँ थियो भने अण्डाको ११.५३ रुपैयाँ प्रतिगोटा अण्डाको उत्पादन लागत परेको थियो । 

यसअघि पशु सेवा विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको टीओआरबाट अण्डाको न्युनतम समर्थन मुल्य तथा बजारीकरणमा अण्डा उत्पादक किसानले आफ्नो उत्पादनको विक्रिबाट उत्पादन लागत पनि फिर्ता नपाएको र घाटामा रहेको निष्कर्ष निकालेको हो ।

अण्डा उत्पादक संघले गत भदौ ३० गते अण्डाको न्युनतम समर्थन मुल्य तथा बजारीकरण सम्बन्धमा निवेदन दिएको थियो । अण्डा उत्पादनको लागत मुल्य र बजारीकरण अध्ययन सम्वन्धी टीओआर स्वीकृत गरी अध्ययन गर्न माउन्टडिजिट टेक्नोलोजी प्रालिलाइ जिम्मा दिइएको थियो । सातै प्रदेशबाट छानिएका साना, मध्यम र ठूला व्यवसायिक कुखुरा फार्महरुलाइ समावेश र तराइका केही जिल्लामा केन्द्रीत अध्ययनबाट अधिकांश अण्डा उत्पादक किसानले दानाको मुल्य बढ्दा पनि उत्पादन लागत उठाउन नसकेको अध्ययनले देखाएको छ ।

अण्डाको लागत बढ्नुको पछाडी दानाको मुल्य बढ्नु र विदेशबाट कच्चा आयात गर्नुपर्ने किसानको बाध्यता रहेको अध्ययनले देखाएको छ । ३ वर्षको अवधिमा दानाको मुल्य ४० प्रतिशत बढ्दा पनि किसानको अण्डा उत्पादन लागत बढेको देखिन्छ । अहिले बार्षिक ४ लाख मेट्रिक टन मकै दानाका रुपमा खपत हुँदै आएको ६० प्रतिशत विदेशबाटै आयात गर्नुपर्छ ।

अध्ययनका अनुसार दाना उत्पादन लागत सवैभन्दा बढि पर्छ । अण्डाको कुल उत्पादन लागतमध्ये ७७ प्रतिशत दानको लागत पर्छ । त्यस्तै ८ प्रतिशत श्रम, २ प्रतिशत पूँजीगत खर्च र ६ प्रतिशत लगानीको ब्याज पर्ने अध्ययनले देखाएको हो । सवै लागत जोड्दा ११ रुपैयाँ ५३ पैसा हुन आउँछ ।  तर, किसानले ८ रुपैयाँ ६७ पैसामा अण्डा बेच्नुपरेको छ । 

याे पनि पढ्नुस्र ह्याचरी उद्योगीको सिन्डिकेटको प्रभाव: हप्तामै बढ्योे कुखुराको मासुमा ६० र अण्डा क्रेटमा ५० रुपैयाँ

अण्डाको मुल्य कम हुने र उत्पादन लागत उच्च हुने हुँदा उद्यामले नाफा गर्न नसकी पलायन हुने स्थिति छ । अहिलेको अवस्थामा अण्डा उत्पादक किसानले प्रतिगोटा अण्डाको मुल्य ८ रुपैयाँ पनि पाउन सक्ने स्थिति नरहेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन् । उत्पादन लागत घट्नका लागि सरकारले अण्डाको निश्चित मुल्य निर्धारण नगरिँदिदा पनि पोल्ट्री क्षेत्र धराशायी हुने अवस्था आएको बताए । उनले भने, ‘अहिले अण्डा उत्पादक किसानले ८ रुपैयाँ पनि पाउन सकेको छैनन् । सरकारकै अध्ययनले पनि यही देखायो । यही अवस्था रहिरहने हो भने पोल्ट्री क्षेत्र आत्मनिर्भर हैन् ध्वस्त हुने अवस्था छ । यहाँ विदेशी मल्टिनेशनल कम्पनीले जरा गाड्ने स्थिति छ ।’ 

यता, पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले कुखुराको मासु र अण्डाको निश्चित ‘बेसरेट’ तोकी प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने बताए । उनले अण्डाको लागत मुल्य बढी र किसानले कम मुल्यमा अण्डा बेच्नुपर्ने अवस्था अन्त्य गर्न आउँदो कार्यक्रममा विशेष कार्यक्रम ल्याइने बताए । 
अण्डा उत्पादक व्यापारीले पनि भारतबाट सस्तो मुल्यमा अण्डा ल्याएर कालोबजारी नगर्न निर्देशन दिए । 

अहिले कुल गार्हस्थ उत्पादन(जीडीपी)मा कृषिको २६.५ प्रतिशत योगदान छ । जसको १२.३१ प्रतिशत हिस्सा पोल्ट्री तथा पशुपालन क्षेत्रबाट हुने गर्छ । नेपालमा ५४ प्रतिशत घरधुरीले ७ करोड २२ लाख कुखुरा पालेर ६०  हजार १२२ मेट्रिक टन मासु र लगभग १ अर्ब ५० करोडको अण्डा बार्षिक उत्पादन हुने गरेको सरकारी अध्ययनले देखाउँछ ।

आत्मनिर्भर उन्मुख रहेको कुखुरापालन व्यवसाय ९५ प्रतिशत निजीक्षेत्रको सहभागीता छ । जसमा सरकारको हस्तक्षेप हुन नसक्दा अहिले किसानले कुखुराको मासुको र अण्डाको लागत मुल्य पाउन सकेका छैनन् भने उपभोक्ताले महंगोमा उपभोग गर्न बाध्य छन् । यसमा सिमित बिचौलिया र सिन्डिकेटधारी व्यवसायीकै दबदबाले पोल्ट्री क्षेत्रमा किसानको लगानीको जोखिम बढिरहेको छ । 

उत्पादन लागत नउठ्ने भएपछि अहिले अधिकांश किसानले कुखुराका चल्ला हाल्नै छाडेको केसी बताउँछन् । फलस्वरुप, कुखुराको मासुको मुल्य  र अण्डाको अहिले साढे ३ सय भन्दा बढी छ । 


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top