काठमाडौं । कोरोना भाइरसको संभावित जोखिमलाई लक्षित गरी सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारत र चीनसंगको सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार बिहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने छ ।
यो निर्णय मालसामानको हकमा लागू हुने छैन ।ती नाकाबाट हुने मालसामानको आवागमन सुचारु नै रहने छ ।
कोरोनाको संक्रमण हुन नदिन दुबै मुलुकको नाका बन्दको निर्णय गरिएको सरकारका प्रवत्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले सीमा नाका एक साताका लागि हुने जानकारी दिए ।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर उसले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।
शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।
मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।
भारतमा कोरोना भाइरसबाट झण्डै ४०० जना संक्रमित भएको र ७ जनाको मृत्यु भएपछि सरकार अझ गम्मीर भएको हो ।