काठमाडौं । सरकारले कोरोना भाइरस महामारी विरुद्ध लड्न चीन र भारतबाट औषधिदेखि चिकित्सा सामाग्री ल्याउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कोरोना रोकथामका लागि यस्तो निर्णय गरेको हो ।
समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथामका लागि सम्पूर्ण उपाय अपनाउने निर्णय गरेको छ
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु चीन र भारतबाट छिटो ल्याउन परराष्ट्र मन्त्रालयले समन्वयको निर्णय गरेको छ । छिमेकी चीनले यसअघि नै औषधि र चिकित्सकको टोली पठाउने भनिसकेको छ ।
बैठकले विश्व महामारीको वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुबाट सुरक्षा व्यवस्था मिलाइ आफु रहे बसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन कुटनैतिक माध्यमबाट अनुरोध गर्ने।
विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आफु रहेको मुलुकमा सुरक्षित र संयमित रुपमा रहन बस्न आव्हान गर्ने। विदेश स्थित नेपाली नियोगहरुले विदेशमा रहेका नेपाली नागरिकहरुको लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरुको बारेमा अवगत गराउने निर्णय बैठकले गरेको हो ।
स्थलगत सीमा नाकाहरुमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरुलाई एकपटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिने। यसरी प्रवेश हुने व्यक्तिहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गरी कम्तिमा १४ दिन क्वारेन्टाइनमा रहने व्यवस्था सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले मिलाउनेव्यवस्था गरिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भेरी अस्पताल, नेपालगंजका प्रयोगशालाहरुमा कोरोना परीक्षणको कार्य यथाशीघ्र सुरु गर्ने। यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने।
ती स्थानहरुमा प्रयोगशाला परीक्षण सेवा संचालन नभएसम्मका लागि विराटनगर र नेपालगंजबाट संकलन गरी हवाइमार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।
नेपालमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।
संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण र उपचारका सामग्रीको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनिक सूचना जारी गर्ने। यस सम्बन्धि विषयमा संभावित आपूर्तिकर्ता संग भोलि नै छलफल गरी त्यस्ता सामग्रीको आपूर्ति २०७६।१२।१५ भित्र गर्ने व्यवस्था मिलाउने।आपूर्ति गरिने त्यस्ता सामग्रीको ढुवानी गर्न कुनै समस्या देखिएमा नेपाल सरकारले सोको व्यवस्था मिलाउने।
सवारी आवागमनको हकमा कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरुलाई छुट दिने। साथै, प्रेस पास प्राप्त गरेका संचारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र बिक्रीवितरणमा संलग्न हुने जनशक्ति लगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने।
कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन नेपाल सरकारले “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” स्थापना गरिसकेको सन्दर्भमा सोहि प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने।
यदि छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा आफु मातहतका संघसंस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्ने। यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा अनिवार्य रुपमा जम्मा गर्ने। यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ। यस सम्बन्धमा समितिबाट भएका निर्णयहरु र यस सम्बन्धी विषयमा कुनै सल्लाह, सुझाव वा जानकारी लिन, दिन र नेपाल सरकारले स्थापना गरेको “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” मा रकम जम्मा गर्न समन्वय समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री नारायणप्रसाद विडारी ९९८४८५९४९८३० लाई सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।