नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा सुरु, क्यूआरबाटै दैनिक १ लाख झिक्न सकिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १३, मङ्गलबार,०९:३५:PM  
 नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा सुरु, क्यूआरबाटै दैनिक १ लाख झिक्न सकिने

काठमाडौं । नबिल बैंकले नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउन ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । 
मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंकको काउन्टरबाट दैनिक एक लाख रुपैयाँसम्म झिक्न सक्नेछन् ।

यस्तै मासिक १० लाख रुपैयाँसम्म झिक्न सक्ने बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिलले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ । 

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहक महानुभावले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नुहुनेछ ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नविलले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको जनाएको छ ।

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्ने बैंकले जानकारी दिएको छ । 

नविलका देश भरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन् । नबिलले केहि साताअघि देशको पहिलो डिजिटल बैंक बन्न नबिल डिजी बैंकको स्थापना गरेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top