काठमाडौं। नेपाल राष्ट्र बैंकले लामो समयदेखि सेयर लगानीकर्ताको माग गत असोज २२ गते एक परिपत्र जारी गर्दै सम्बोधन गर्यो र मार्जिन प्रकृतिको (सेयर धितो) कर्जामा लगाएको सीमा राष्ट्र बैंकले हटायो।
त्यसयता लगानीकर्ताले जति पनि सेयर कर्जा लिन पाउने व्यवस्था कार्यान्वयनमा छ। तर, बैंकहरुको दिन सक्ने क्षमता कम हुँदा लगानीकर्ताले अपेक्षित रुपमा कर्जा लिन नपाउने भएका छन्। नियामकले सेयर धितो राखेर बैंकहरुले दिन पाउने कर्जाको सीमालाई प्राथमिक पुँजीसँग जोड्दा अधिकांश बैंकहरुको सेयर धितो कर्जा क्षमता घटेको छ। पाँच वटा वाणिज्य बैंक थप कर्जा दिए सीमा कट्ने अवस्थामा छन्।
राष्ट्र बैंकले मार्जिक प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थालाई प्राथमिक पुँजीको निश्चित प्रतिशतसम्म मात्रै प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनमा भनिएको छ, ‘मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (कोर क्यापिटल)को बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने छन्।’
मार्जिन कर्जा प्रवाह प्रयोजनका लागि प्राथमिक पुँजी बैंकहरुले अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजीलाई लिनु पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
सिद्धार्थ बैंक र कुमारी बैंकले चालु वर्षको पहिलो महिना (साउन मसान्त) सम्म कोर क्यापिटलको ३५ प्रतिशतमाथि सेयर धितो कर्जा प्रवाह गरिसकेका छन्।
तोकिएको सीमाभन्दा बढी प्रवाह भएको कर्जा बराबरको रकम इजाजत पत्र प्राप्त संस्थाले प्राथमिक पुँजीकोषबाट घटाउनुपर्ने छ भनेर एकीकृत निर्देशनमा प्रष्ट पारिएको छ। अर्थात्, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले ४० प्रतिशत बढी कर्जा प्रवाह गरेर प्रवाहित कर्जा बराबरको रकम प्राथमिक पुँजीबाट घटाउनुपर्ने हुन्छ।
सिद्धार्थ बैंक र कुमारी बैंकले चालु वर्षको पहिलो महिना (साउन मसान्त) सम्म कोर क्यापिटलको ३५ प्रतिशतमाथि सेयर धितो कर्जा प्रवाह गरिसकेका छन्। उक्त अवधिसम्म कोर क्यापिटलको सिद्धार्थ बैंकले ३७.०३ प्रतिशत र कुमारी बैंकले ३६.१४ प्रतिशत सेयर धितो कर्जा प्रवाह गरेको हो।

सिद्धार्थ बैंकको कोर क्यापिटल २६ अर्ब ३८ करोड ४० प्रतिशत अर्थात् १० अर्ब ५५ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गर्न पाउने हो। तर, बैंकले साउन मसान्तसम्म ९ अर्ब ७६ करोड रुपैयाँ बढी सेयर धितो कर्जा प्रावाह गरिसकेको छ। अब बैंकले मौज्दात कोर क्यापिटलअनुसार ७८ करोड ४७ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गर्न पाउँछ। साथै, कुमारी बैंकको गत त्रैमासमा कायम कोर क्यापिटल ३१ अर्ब १३ करोड रुपैयाँ हो। बैंकले साउन मसान्तसम्म ११ अर्ब २५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरिसकेको हुँदा अब बैंकले कोर क्यापिटलको ३.८६ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गर्न सक्ने देखिन्छ।
यस्तै, उक्त अवधिमा प्रवाहित सेयर धितो कर्जा र गत त्रैमासमा मौज्दात बैंकहरुको कोर क्यापिटलको तथ्यांकअनुसर आगामी दिनमा सिटिजन्स बैंकले १ अर्ब २७ करोड, प्राइम कर्मसियल बैंकले १ अर्ब ६३ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब २० करोड, नबिल बैंकले ३ अर्ब ८३ करोड र माछापुच्छ्र बैंकले ४ अर्ब ७ करोड रुपैयाँ सेयर धितो कर्जा दिन सक्छन्। अन्य १२ वटा बैंकले आगामी दिनमा ५ अर्ब रुपैयाँमाथि १७ अर्ब ४६ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा दिन सक्ने क्षमता राख्छन्।
राष्ट्र बैंकले अन्य कर्जाहरुको सीमा कुल कर्जाका कति प्रवाह गर्ने भनेर निर्धारण गरेको छ। तर, सेयर धितो कर्जाको सीमा मात्रै पुँजीसँग जोडेको छ।
गत वर्षको चौथो त्रैमाससम्म वाणिज्य बैंकहरुको कोर क्यापिटल कुल ६ खर्ब रुपैयाँ कायम छ। जसको ४० प्रतिशत अर्थात् ४ खर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट सेयर धितो कर्जा दिन पाउने क्षमता हो। चालु वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकहरुले कोर क्यापिटलको २०.१० प्रतिशत अर्थात् १ खर्ब २० अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरिसकेका छन्। आगामी दिनमा वाणिज्य बैंकहरुले १९.९० प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गर्न सक्ने क्षमता राख्छन्।
राष्ट्र बैंकले अन्य कर्जाहरुको सीमा कुल कर्जाका कति प्रवाह गर्ने भनेर निर्धारण गरेको छ। तर, सेयर धितो कर्जाको सीमा मात्रै पुँजीसँग जोडेको छ। राष्ट्र बैंकले निर्धारण गरेको सीमामाथि गएर कर्जा प्रवाह गरेमा बैंकहरुको पुँजी घट्ने हुन्छ। राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’अनुसार बैंकले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्छ।
अघिल्लो वर्षदेखि बैंकहरुलाई नियामकले तोकेको पुँजीकोष व्यवस्थापनमा सकस परिरहेको छ। तोकिएको प्राथमिक पुँजीकोष पुर्याउन नसकेकाले केही बैंकहरु लाभांश वितरण नियामकले रोकेको छ। यसले गर्दा बैंकहरुले प्राथमिक पुँजीलाई प्रभाव पर्ने गरी सेयर धितो कर्जा प्रवाह नगरेको एक बैंकर बताउँछन्।
‘खराब कर्जा बढेपछि त्यसको प्रोभिजनले बैंकहरुलाई टायर वान क्यापिटल म्यानेज गर्न समस्या भइरहेको छ। बढाउन रिकोभरी छैन भने अर्कोतिर एनबिए बिक्री ठप्प छ,’ ती बैंकरले क्यापिटल नेपालसँग भने, ‘अन्य क्षेत्रबाट कर्जामाग नभए पनि सेयर धितोमा केही छ। तर, बैंकहरुले क्यापिटलका कारण माग भए जति दिन सक्ने अवस्था छैन।’
गत नियामकले सेयर धितो कर्जामा लगाएको व्यक्तितर्फको सीमा खारेज गरेपछि कर्जाको माग बढेको र बैंकहरुले आफ्नो सीमाको अधिकमत कर्जा प्रावाह गरिसकेको हुँदा थप प्रवाह गर्न क्यापिटल थप्नुपर्ने उनको भनाइ हो।
नियामकले कर्जा लिन पाउने सीमा हटाए पनि बैंकले दिन पाउने सीमाका कारणले कर्जा लिन समस्या भएपछि सेयर लगानीकर्ताहरुले यस्तो सीमा हटाउनु पर्ने वा संशोधन गर्नुपर्ने माग गरिहेका छन्।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो। त्यसलाई समय सापेक्ष संशोधन गर्दै पछिल्लो पटक संस्थागत लगानीकर्ताको लागि २५ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने व्यवस्था कार्यान्यवनमा थियो। अधिकांश बैंक तथा वित्तीय मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा दिने क्षमता घट्दै गएको छ।
राष्ट्र बैंकको प्रावधानमा रहेर बैंकहरुलाई सेयर धितो कर्जा गर्न सकस पर्दै गएको हो। नियामकले कर्जा लिन पाउने सीमा हटाए पनि बैंकले दिन पाउने सीमाका कारणले कर्जा लिन समस्या भएपछि सेयर लगानीकर्ताहरुले यस्तो सीमा हटाउनु पर्ने वा संशोधन गर्नुपर्ने माग गरिहेका छन्।
सेयर धितो कर्जामा बैंकहरु अन्य कर्जाको जस्तो जोखिम नहुने हुँदा यसको सीमालाई पनि कुल कर्जामा जोड्दा उपयुक्त हुने नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन कुमार दहाल बताउँछन्।
‘बैंकहरुले मार्जिन कल गर्न पाउने हुँदा यस्तो कर्जामा धेरै रिक्स हुँदैन, यसलाई पनि लोन पोटफोलियोमा जोड्दा सबैलाई सहज हुन सक्छ,’ संघका पूर्वअध्यक्ष दाहालले क्यापिटल नेपालसँग भने, ‘यद्यपि, नियामकले केही रिक्स देखेर वा यो क्षेत्रमा बैंकको कर्जा कम नै जानु उपयुक्त ठानेर यस्तो नीति लिएको हुन सक्छ।’
एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुर्नमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान नगर्न पाइने व्यवस्था गरिएको छ।
नियामकीय प्रवधानअनुसार बैंकहरुले यस्तो कर्जाको हकमा सुरक्षणवापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेञ्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सक्छन्।
एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुर्नमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान नगर्न पाइने व्यवस्था गरिएको छ।
बैंकहरूले सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोका लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने छ।
बैंकहरुले मार्जिन कल तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने पाउने हुँदा यसमा अन्य कर्जामा जस्तो जोखिम नभएको दाहालको भनाइ हो।