एनटीएद्वारा राज्यकोष दोहन, नयाँ भवन बनाउन र डेकोरेसन गर्न समान खर्चसहित टेण्डर आह्वान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस ३, शुक्रबार,०९:४५:AM  
एनटीएद्वारा राज्यकोष दोहन, नयाँ भवन बनाउन र डेकोरेसन गर्न समान खर्चसहित टेण्डर आह्वान

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले नयाँ घर बनाउन र बनेको घरमा सजावट (डेकोरेसन) गर्ने खर्चसहित बोलपत्र (टेन्डर) आह्वान गरेको पाइएको छ । प्राधिकरणले चाबहिलमा बनाउन लागेको भवको खर्च र जमलस्थित राष्ट्रिय नाचघरमा सेटअप गर्न लागेको खर्च समान देखिएको छ । 

एनटीएले १८ नोभेम्बर २०२० मा आव्हान गरेको टेन्डरमा जमलस्थित राष्ट्रिय नाचघर नयाँ कार्यालय सेटअपका लागि ३ करोड ४० लाख रुपैयाँको स्टिमेट खर्च उल्लेख गरिएको छ । 

त्यसैगरी, एनटीएले चाबहिलमा घर बनाउनका लागि आह्वान गरेको टेन्डरमा पनि सोही मूल्य राखेपछि यस्तो खुलेको हो । सञ्चालक समितिमा छलफल तथा निर्णय नै नगराई एनटीएका अध्यक्ष पुरुषोत्तम खनालले नयाँ भवन निर्माण तथा कार्यालय डेकोरेसनका लागि समान रकमको बोलपत्र आह्वान गरेको प्राधिकरणका एक सञ्चालक समिति सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए । 

एनटीएले २५ नोभेम्बर २०२० मा चाबहिलस्थित आफ्नै जग्गामा घर बनाउनका लागि बोलपत्र आव्हान गरेको छ । उक्त बोलपत्रमा पनि ३ करोड ४० लाख रुपैयाँको लागतमा चाबहिलमा नयाँ घर बन्ने हो । 

ती सदस्यका अनुसार अध्यक्ष खनालले निहित व्यक्तिको स्वार्थमा परेर राज्यकोषको दुरुपयोग गर्न लागेको आरोप लगाए । एनटीए नेतृत्वले दुई ठाउँमा गर्न लागेको खर्चलाई जोडेर चाबहिलमा घर बनाउनु पर्थ्यो । किनभने एनटीएको चाबहिलमा जग्गा पनि प्रशस्त छ । त्यहाँ घर बनेपछि प्राधिकरणलाई आफ्नै भवनमा सार्न सकिन्थ्यो भने प्राधिकरणले मासिक रुपमा तिर्ने १७ लाख रुपैयाँ भाडा पनि जोगिन्थ्यो । 

‘हामीले अध्यक्षज्यूलाई यही सुझाव दिन चाहेका थियौं,’ ती सदस्यले भने, ‘तर, सदस्यहरुलाई कुनै खबर नै नगरी नाचघरमा अफिस सार्नका लागि र चाबहिलमा घर बनाउनका लागि छुट्टै टेन्ड आह्वान गरिएछ ।’ 

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) राख्नका लागि चाबहिलमा घर बनाउन थालेको हो । त्यसका लागि ३ करोड ४० रुपैयाँ लागत निकालिएको छ । यस्तै नाचघर सेटअफका लागि पनि ३ करोड ४० लाख रुपैयाँ देखाइएको छ । 

‘दुवै ठाउँमा घर बन्न कम्तिमा पनि एक वर्ष लाग्छ,’ ती सदस्यले भने, ‘दुई ठाउँमा लाग्ने खर्च एकैठाउँ जोड्दा ६ करोड ८० लाख रुपैयाँ हुन्छ । त्यो रकमले चाबहिलमा आफ्नै भवन बनाएको भए एक फ्ल्याट एमडीएमएसलाई दिएर बाँकी आफूले प्रयोग गर्न सकिन्थ्यो । यसो गर्दा राज्यकोष दोहन हुँदैनथ्यो ।’ 

प्राधिकरणले अहिले मासिक रुपमा १७ लाख रुपैयाँ भाडा तिरिरहेको छ । अर्को एक वर्ष अहिलेकै ठाउँ बस्ने र चाबहिलमा आफ्नै घर बनेपछि सर्ने हो भने प्राधिकरणको पनि ठूलो रकम जोगिने ती सदस्यको भनाइ छ । 

नयाँ घर बनाउन र डेकोरेसन गर्न उत्ति लाग्छ खर्च ?

ती सदस्यका अनुसार नयाँ घर बनाउन जति खर्च लाग्छ, कुनै हालतमा बनेको घरमा पार्टेसन गर्न त्यति खर्च लाग्दैन । राष्ट्रिय नाचघर बनिसकेको भवन हो । त्यहाँ आफूलाई चाहिने जति वर्गमिटर भाडालाई लिएर त्यसलाई पार्टेसन गर्ने काम मात्रै हो । 

‘पार्टेसन गर्न ३ करोड ४० लाख रुपैयाँ कुनै हालतमा लाग्दैन्,’ ती सदस्यले भने, ‘कसैको सेटिङ अध्यक्षज्यूले यस्तो निर्णय गर्नुभएको होला ।’ 
राज्यकोष बचाउने कि दोहन गर्ने ?

एनटीएसँग जग्गा नभएको भए जग्गा किनेर घर बनाउँदा केही झण्झटीलो हुन सक्छ । तर, प्राधिकरणसँग चाबहिलमा २ रोपनी १० आना जग्गा छ । त्यहाँ घर बनाउन पनि लागिसकेको छ । तर, अहिले बनाउन लागिएको घर एमडीएमएस राख्नका लागि मात्रै हो । 

‘आफै त्यही सर्ने तरिकाले किन चाबहिलमा घर किन नबनाउने ?’ उनले भने, ‘यदि प्राधिकरण कमलादीबाट नाचघर जानुभन्दा चाबहिल आफ्नै घरमा जाने हो भने मासिक रुपमा हुने १७ लाख खर्च जोगिन्छ । महिनाको १७ लाख रुपैयाँ जोगिनु भनेको वर्षको २ करोड ४ लाख रुपैयाँ हो ।’ 

मन्त्रालयले हेर्न जरुरी

एनटीए सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमातहतको निकाय हो । त्यहाँ हुने गतिविधिले राज्यलाई कति नोक्सान पुर्याइरहेको छ भन्ने मन्त्रालयले हेर्नुपर्ने ती सदस्यको भनाइ छ । अध्यक्षज्यूको काम कारबाहीले जनताको पैसा कसरी खर्च भइरहेको छ भन्ने विषयमा मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

यसो भन्छन् अध्यक्ष खनाल 

कार्यालयलाई पुग्ने जग्गा नभएर चाबहिलमा एमडीएमएस र राष्ट्रिय नाचघरमा अफिस बनाउन लागिएको हो । चाबहिलमा २ रोपनी १० आना जग्गा छ । हामीलाई खुमलटारस्थित रेडियोको जग्गा दिइरहेको छ । त्यो जग्गा पास हुन सकेको छैन । खुमलटारको जग्गा हाम्रो नाममा आउने बित्तिकै त्यहाँ हाम्रो आफ्नै भवन हुन्छ । चाबहिलमा पनि डेटासेन्टर बनाउने हो । दुई तल्लाको प्रिफ्याब बन्छ । त्यहाँ पनि ल्याब तथा डाटा सेन्टर बनाउने हो ।

डाटा सेन्टरलाई विभिन्न कन्टेनर ल्याएर राख्नुपर्ने हुन्छ । त्यहाँ दुईवटै अफिस राख्न पुग्दैन । घर बनाउन र डेकोरेसन गर्न लाग्ने खर्चले आफ्नै भवन बन्दैन थियो । त्यहाँ एमडीएमएस तथा एनटीएको अफिस राख्न सकिन्थ्यो । अफिस सेटअप पनि नयाँ घर बनाएसरह खर्च लाग्छ । नाचघरमा हामीले जुन स्पेस लिएका छौं, त्यसमा लाग्ने खर्च नयाँ घर बनाउन सरह लाग्छ । तर, त्यो दीर्घकालीन भने होइन । डाटा सेन्टर दीर्घकालीन हुन्छ ।

किनभने त्यो आफ्नै जग्गामा बनाउन लागिएको हो । कमलादीमा अफिसको वातावरण पटक्कै छैन । बाहिर खुला भएर होला सायद । थोरै कर्मचारी राखेर बस्न मिल्छ । हाम्रा कर्मचारी ७६ जान छन् । फेरी लोकसेवाबाट मागेका छौं । घर नै बनाए पनि दुई चार बर्ष लाग्छ । अहिले एउटा संस्था र अर्को संस्थाबीच एग्रिमेन्ट भएर बनाउने हो ।  चाबहिल रेसिडेन्सियल एरिया हो ।

त्यहाँ अफिस इन्भाएरोमेन्ट छैन । वरिपरि घरैघर, पसल, स्थानीय रेष्टुरेन्ट छ । त्यो एरियामा गएर काम गर्न सक्ने अवस्था हुँदैन । त्यही भएर नाचघर जान लागेका हौं । पहिलाका अध्यक्ष नजानुको कारण अफिस इन्भारमेन्ट नभएर हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top