काठमाडौं। काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सी पुननिर्माणका लागि बन्द गरिएको प्रष्टीकरण व्यवस्थापनले दिएको छ। भदौ २४ गते भएको जेनजीहरुको आन्दोलनमा भएको आगलागी र तोडफोडबाट होटलमा ठूलो मात्रामा क्षति पुगेकाले संरचना निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने जनाएको छ।
होटलका एक सञ्चालकका अनुसार आगजनीबाट के कति क्षति भएको छ? भन्ने यकीन जानकारी आउन बाँकी छ। अहिलेको अवस्थामा सञ्चालन गर्न सक्ने स्थिति नभएकाले बन्द गरिएको उनको भनाइ थियो।
अहिले आगोका कारण भौतिक संरचनामा कति क्षति भयो?, बस्न योग्य छ वा छैन? भन्ने अध्ययन विज्ञहरुले गरिरहेकाले क्षतिको विवरण आउने वित्तिकै पुननिर्माणमा लाग्ने उनले बताए।
आन्दोलनका क्रममा होटल तोडफोडसँगै आगोसमेत लगाइएको थियो। ‘अहिले पर्यटक राख्न सक्ने स्थिति नभएका कारण बाध्य भएर होटल बन्द गरिएको हो,’ ती सञ्चालकले भने, ‘चलिरहेको होटल बन्द गर्नुपर्ने हाम्रो रहर हैन बाध्यता हो।’
सञ्चालनमा आएको २६ वर्ष पूरा भइसकेकाले पनि होटलका कोठाहरु रेनोभेट गर्ने तयारी यसअघि गरिसकेको थियो। होटलमा २८० वटा कोठाहरु सञ्चालनमा रहेका छन्।
यदि, होटलमा जेनजी आन्दोलनको क्रममा ठूलो क्षति नभएको भए रेनोभेट गर्दा ५० प्रतिशत मात्र कोठा सञ्चालन गर्ने योजना बनाए थिए।
ती कोठाहरु रेनोभेटका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिसकेको अवस्थामा जेनजी आन्दोलनका क्रममा होटलमा भएको तोडफोड र आगोलागीका कारण थप समस्या उत्पन्न भएपछि पूर्ण रुपमा होटल बन्द गर्नु परेको ती सञ्चालकको भनाइ छ।
यदि, होटलमा जेनजी आन्दोलनको क्रममा ठूलो क्षति नभएको भए रेनोभेट गर्दा ५० प्रतिशत मात्र कोठा सञ्चालन गर्ने योजना बनाए थिए। अहिले होटलको मुख्य संरचनामा आगो लागेको र ती संरचनामा कति क्षति भएको छ?, बस्न योग्य छ वा छैन? भन्ने यकीन नभएकाले पूर्ण रुपमा बन्द गरिएको ती सञ्चालकले जानकारी दिए।
होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ ।
“होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ। यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउदैँ आएका छौं”, होटलले भनेको छ ।
होटल पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै पटक पटक सरकारबाट सम्मानित भइसकेको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलका रुपमा दुई पटक सम्मानित भइसकेको छ ।
अर्थमन्त्रीले भेटे सञ्चालक
आन्दोलनमा होटलमा क्षति भएपछि होटल व्यवस्थापनले सार्वजनिक सूचना जारी गर्दै तत्कालका लागि बन्द गरिएको जानकारी दिएको थियो। होटल बन्दको सूचना सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले चासो देखाउँदै छलफल गरेका थिए।
आइतबार अर्थमन्त्रीले होटल सञ्चालकसँगको गरेको छलफलमा असुरक्षाभन्दा पनि पुननिर्माणका लागि बन्द गरिएको जानकारी दिएका थिए। अर्थमन्त्री र सञ्चालकको तर्फबाट दिनेश श्रेष्ठबीच भेट भएको थियो।
भेटमा अर्थमन्त्री खनालले सरकारको तर्फबाट पुननिर्माणका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै तीव्र गतिमा काम थालेर सञ्चालनमा ल्याउन आग्रह गरेका थिए।