काठमाडौं । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्स) मुस्किलले उकालो लागेको छ । कारोबारको सुरुवातमै बुधबारको उच्च विन्दु २६२३ अंकसम्म पुगेको सूचक २३ मिनेटमै झरेर २५९५ अंकमा सीमित भएको थियो ।
त्यसपछि केही माथि जान खोजेको बजार दिनभरि नै उकालो लाग्ने र तल झर्ने प्रतिस्पर्धा मै रह्यो । तर, कारोबारको साढे २ घण्टापछि भने २६०० विन्दुबाट उकालो लाग्न थालेको बजार मंगलबारको तुलनामा करिब १० अंकले बढेर नेप्से परिसूचक २६११.४५ अंकमा रोकिएको छ ।
बुधबारको कारोबार प्यार्टनलाई नियाल्दा बिहीबार पनि बजार तीव्र प्रतिस्पर्धामै रहने र बढ्ने घट्नेका बीचमा प्रतिस्पर्धामै रहने संभावना छ । यद्यपी बैंकिङ समूह र अन्य समूहको टेकोलाई व्यापार र विकास बैंक समूहले साथ दिएकाले बिहीबार बजारले नयाँ उचाइ लिने संभावना पनि त्यत्तिकै छ ।
यसबीचमा नाफा बुक गरिसकेका लगानीकर्ताहरु बजार फर्कने संभावना रहेकाले बिहीबार बजारमा चमक देखिने आंकलन गर्न सकिन्छ ।
कारोबार रकम भने बधबार केही खुम्चिएको छ ।
८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ६९ करोड ४१ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो बैंकले लगातार चौथो दिन पनि १० प्रतिशतको मूल्य वृद्धि गर्दै प्रतिकित्ता ४९७ रुपैयाँ पुर्याएको छ । यद्यपी बुधबार १० ठुला कारोबार मध्ये ७ वटा वाणिज्य बैंक समूहका छन् । बजार पुँजीकारणका आधारमा वाणिज्य बैंक समूहको हिस्सा ३० प्रतिशत मात्र छ ।
यस्तै नबिल बैंकको १३९१ मा ४१ करोड १६ लाख र ग्लोबल आईएमई बैंकको ५०० मा ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बढी कमाउनेमा निफ्रा, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास रहेका छन् ।
बुधबार बैंकिङ, व्यापार, विकास बैंक, अन्य समूह र म्युचुअल फण्ड उपसूचक बढ्दा होटल, जलविद्युत, वित्त, जीवन तथा निर्जीवन र लघुवित्तको घटेको छ । वाणिज्य बैंक उपसूचक २९.७७, विकास बैंक सूचक ३.५६, व्यापार ६९ र अन्य परिसूचक १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।