काठमाडौं । राष्ट्रिय महत्त्वको उत्तरगङ्गा जलाशययुक्त आयोजनाले आगामी ६ महिनाभित्र अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गर्ने भएको छ । अहिले अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने काम भइरहेको र ६ महिनाभित्र कम्पनी छनोट गरिसक्ने गरी अध्ययन र मूल्याङ्कनको काम अघि बढेको आयोजनाले जनाएको छ ।
८२८ मेगावाटको उक्त आयोजनाको सम्भाव्यता अध्ययन र ईआईए प्रतिवेदन सम्पन्न गरेर मन्त्रालयमा पठाइएको छ । डीपीआर बनाउन प्रारम्भिक प्रस्तावअनुसार इच्छुक १० ओटा कम्पनीको प्रस्ताव आएको उत्तरगङ्गा पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक अम्बिकेशकुमार झाले क्यापिटल नेपाललाइ जानकारी दिए । परामर्शदाता कम्पनी छनोट गरी १८ महिनाभित्र डीपीआर तयार गर्ने गरी योजना बनाइएको झाले बताए ।
उनले चालू आर्थिक वर्षको अन्त्यसम्म डीपीआर निर्माण सुरु हुने बताए । ‘६ महिनाभित्र अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट हुन्छ । प्रारम्भिक प्रस्तावमा १० कम्पनी इच्छुक देखिएका छन्,’ झाले भने, ‘परामर्शदाता कम्पनी छनोटपछि १८ महिनाभित्र डीपीआर तयार गर्ने योजनामा छौं ।’
आगामी ३ वर्षभित्र डीपीआर लगायतका काम पूरा गरी आयोजना निर्माण सुरु हुनेछ । विसं २०७२ सालमा ८२८ मेगावाट क्षमताको आयोजना बनाउन विद्युत् विकास विभागमार्फत अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ । दुई वर्षका लागि लाइसेन्स प्राप्त भए पनि म्याद थप गरी आयोजना अघि बढाउन लागिएको छ ।
यो आयोजना रुकुमतर्फ बन्ने कि पश्चिम बागलुङको ढोरपाटनतर्फ बन्ने विवादले लामो समयसम्म आयोजना अन्योलमै फस्यो । पछि स्थानीय तह, प्रदेश सरकार र विभिन्न कम्पनीको अध्ययनका आधारमा बागलुङतर्फ नै बनाउने प्रायः पक्का भएको छ । अझै पनि अन्तर्राष्ट्रिय कम्पनीसँग प्राविधिक अध्ययन भइरहेको आयोजना पक्षले जनाएको छ । बागलुङको ढोरपाटन हुँदै निसीखोलाको गावामा पानी झारेर बाँध बनाई विद्युत् उत्पादन हुनेछ । १३ सय ५५ मिटर माथिबाट पानी झारिने छ । निसीखोलामा दुई ओटा पावरहाउस निर्माण हुनेछन् ।
निर्माण सुरु भएको ५ देखि ७ वर्षभित्र आयोजना बनिसक्ने लक्ष्य छ । आयोजनामा ६८ प्रतिशत नेपाल सरकारको र ३२ प्रतिशत जनताको लगानी रहने छ । प्रारम्भिक अनुमानित लागत १ खर्ब ३२ अर्ब रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ ।