काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भइरहेको छ ।
बाढीले ललितपुरको नल्लु, देवकी र वासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति भएको छैन । ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले देवकी र वासुकी मुहानको मर्मतलाई तीव्रता दिइरहेको छ ।
बाढीका कारण देवकी र वासुकी मुहानमा पूरै क्षति पु¥याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो । केयूकेएलको ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र वासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्याङ्कीमा पानी खसाल्न सकिएको जानकारी दिए ।
‘तत्काल देवकी र वासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भए पनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं,’ शाखा प्रमुख चापागाईंले भने, ‘उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पूरै क्षति पु¥यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्रै खानेपानीको आपूर्ति सहज हुन्छ ।’
बाढीले क्षति पु¥याएको मुहान र पाइपलाइनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले बाढीबाट मुहान र पाइपलाइनमा गरी करिब ३ करोड ७१ लाख रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका छन् ।
केयूकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न सहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, वासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्याङ्कीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ ।