काठमाडौं । सेयर मूल्य बढेपछि बजार पुँजीकरणमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पछि पार्दै नबिल बैंक दोस्रो स्थानमा पुगेको छ । अघिल्लो सातासम्म नेपाल रि–इन्स्योरेन्स बजार पुँजीकरणको दोस्रो स्थानमा रहेकोमा यो सातादेखि नबिलले पछि पारेको हो ।
नबिलको सेयर मूल्य बढेर बजार पुँजीकरण ८८ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो साता नबिलको बजार पुँजीकरण ८६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ थियो । यो साता नबिलको पुँजीकरण २ अर्ब रुपैयाँ बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
यो साता नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरण घटेर ८६ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । बजार पुँजीकरण सेयर मूल्यमा भरपर्छ । अघिल्ला साता नेपाल रि–को बजार पुँजीकरण ८७ अर्ब ६० करोड रुपैयाँ थियो । यो साता उसको पुँजीकरण १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ ।
नबिलको सेयर मूल्य प्रतिकित्ता ८७५ र नेपाल रिको ८६४ रुपैयाँ छ । झण्डै १ हजार रुपैयाँ नजिक पुगेको नेपाल रिको सेयर मूल्य निरन्तर घट्न थालेको छ । यसैगरी बजार पुँजीकरणको पहिलो स्थानमा नेपाल टेलिकम छ । टेलिकमको पुँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ छ ।
चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, पाँचौंमा एभरेष्ट बैंक, छैटाैंमा नेपाल इन्भेस्टमेन्ट बैंक, सातौंमा एनएमबी बैंक, आठौंमा नागरिक लगानी कोष, नवौंमा एनआईसी एसिया बैंक र दशौं स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड छन् । हिमालयन बैंक १० औं स्थानबाट तल झरेको छ ।
नेप्सेमा सूचिकृत कम्पनीहरुको कुल बजार पुँजीकरण २० खर्ब ८० अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो साताको भन्दा बजार पुँजीकरण १० अर्ब बढीले घटेको छ ।
