काठमाडौं । काठमाडौं महानगरका तीन स्थानमा सङ्घीय सरकारले सडक निर्माण गरेको केही समय नबित्दै उक्किएपछि स्थानीयबासीले महानगरपालिकामा उजुरी दिएका छन् ।
काठमाडौं महानगरभित्रका तीन ओटा फरक फरक वडाका सडक निर्माण भएर समस्या आएपछि बुझ्दा महानगरले निर्माण नगरेको पाइएको थियो । तर, महानगरभित्रकै सडक पर्ने भएकाले त्यहाँका स्थानियबासीले महानगरमा नै गुनासो गर्न आएका थिए ।
महानगरभित्रको चक्रपथ सडक तथा आकाशे पुल विस्तारको काम चीन सरकारको सहयोगमा भइरहेको छ भने नेपाल सरकारले चाबहिल सडक विस्तार गर्ने योजना थियो । गत आर्थिक वर्षमा महानगरले महाराजगन्ज चाबहिललगायतका उपत्यकाका आकाशे पुल निर्माणको योजना बनाएको थियो ।
यसरी सरकार र महानगरबीच योजनामा समन्वय नहुँदा पुल निर्माण हुन सकेन । अझै पनि कानपामा महानगर र सङ्घीय सरकारले एउटै स्थानमा महानगरको पुल निर्माण योजना बनाएका छन् भने सरकारले पनि तीनै स्थानमा ‘फ्लाई ओभर’ तथा ‘अन्डरपास’ निर्माणको योजना बनाएको छ ।
काठमाडौंभित्र भइरहेका विकास निर्माण र भइसकेका निर्माणका विषयमा अनभिज्ञ छ, महानगर । यो एउटा उदारण मात्र हो । स्थानीय सरकार आएपछि गाउँगाउँमा सिंहदरबार भन्ने नारासहित नयाँ संविधानले स्थानीय तहलाई जिम्मेवार र अधिकारसम्पन्न बनाएको छ । तर, देशको राजधानी तथा सबैभन्दा धरै जनसङ्ख्या बसोबास रहेको कानपा क्षेत्रभित्र भइरहेका विकास योजनाको जानकारी पाउँदैन, महानगर ।
जनतासँग प्रत्यक्ष सरोकार हुने भएकाले महानगरभित्र भएका सबैजसो विकास निर्माणका बारेमा जनताले महानगरसँगै गुनासो र प्रश्न सोध्ने गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरमा विभिन्न विकास निर्माण कार्यहरु सडक, पुल, खानेपानी, बिजुलीबत्ति लगायतका काममा सङ्घीय सरकार, विद्युत प्राधिकरण, खानेपानी, ढल निर्माण र सडक डिभिजनसँगको समन्वयबिना अगाडि बढ्ने गरेको छ ।
आगामी वर्षदेखि यसलाई व्यवस्थित ढङ्गले सबैसँग समन्वय गरी अगाडि बढ्ने योजना रहेको प्रवक्ता डङ्गोलले बताए । ‘महानगरले यो आवभित्र सबैले देख्ने गरी र कतै गुनासोे नआउने गरी काम गर्ने छ,’ प्रवक्ता डङ्गोलले भने ।