काठमाडौं । चालू आर्थिक वर्ष ०७७ ०७८ मा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले खुदनाफा १४४ प्रतिशत बढाउने भएको छ । चालू आर्थिक वर्षमा सानिमाको नाफा बढेर ४ करोड ५३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
गत आर्थिक वर्ष ०७६०७७ मा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँ नाफा बढ्ने प्रक्षेपण गरेको छ ।

सानिमाले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्ष ०७८०७९ मा ७ करोड ८३ लाख र ०७९०८० मा दोब्बर बढेर १५ करोड ८२ लाख रुपैयाँ पुग्ने अनुमान सानिमाको छ ।
चालू आर्थिक वर्षमा सानिमाको बिमा शुल्क (प्रिमियम) संकलन ९८.४८ प्रतिशत बढेर ७० करोड रुपैयाँ संकलन गर्ने अनुमान गरेको छ । यस्तै आगामी वर्ष ४२.८६ प्रतिशत बढेर १ अर्ब र ३ वर्षमा २५ प्रतिशत बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुग्ने प्रक्षेपण सानिमा जनरलको छ ।

कम्पनीको जगेडा कोष यो वर्षसम्म ऋणात्मक भएकोमा आगामी वर्षदेखि धनात्मक हुने अनुमान गरिएको छ । जसअनुसार आगामी वर्ष १ करोड ८९ लाख ७९ हजार र ३ वर्षमा बढेर ८ करोड ६३ लाख रुपैयाँ पुग्ने सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर आम्दानी गत वर्ष ४ रुपैयाँ ५४ पैसा, चालू वर्ष ७ रुपैयाँ ८४, आगामी वर्ष १५ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर नेटवर्थ यो वर्ष १०९, आगामी वर्ष ११६ रुपैयाँ ८५ र ३ वर्षमा १३२ रुपैयाँ ६७ पैसा पुग्ने अनुमान कम्पनीको छ ।

कुल बिमा शुल्क वृद्धि, कम्पनीले व्यवसाय बढाउन थप शाखा कार्यालयहरूको विस्तार एवं दक्ष कर्मचारीहरूको संख्यामा बढाउँदै लैजाने व्यवस्थापनको योजना रहेको छ । सोही आधारमा कुल बिमा शुल्कमा आर्थिक वर्ष २०७७/०७८,२०७८/०७९ र२०७९/०८० मा क्रमशः९८.४८, ४२.८६ र २५.०० प्रतिशत वृद्धिदर गणना गरिएको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी लगानी तथा कर्जाबाट आय÷कुल लगानी तथा कर्जा प्रक्षेपित गरिएअनुसार आर्थिक वर्ष २०७७०७८ मा प्राथमिक सेयर (आईपीओ) निष्कासनबाट प्राप्त हुने रकम र बिमा शुल्क संकलनबाट लगानीमा ५२.६६ प्रतिशतको वृद्धि र आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा उल्लेख गरिए बमोजिम बिमाशुल्क संकलनबाट १४.९१ र १९.९९ प्रतिशतको वृद्धि हासिल हुने अपेक्षा गरिएको सानिमाले जनाएको छ । यसैगरी लगानी तथा कर्जाको प्रक्षेपित भारित औसत प्रतिफल आर्थिक वर्ष २०७७/०७८,२०७८/०७९, र २०७९/०८० मा क्रमशः ५.९३, ६.२१ र ६.२० प्रतिशत हुने अपेक्षा गरिएको छ ।
सानिमा जनरलले २०७४ माघ २४ गते बिमा समितिबाट निर्जीवन बिमा कारोबार गर्न स्वीकृति प्राप्त गरी मिति २०७५ साल असार २७ गतेदेखि निर्जीवन बिमा कारोबार गर्दै आएको छ । कम्पनीको संस्थापकहरूमा बैंकिङ÷वित्तीय, बिमा, जलविद्युत, पर्यटन, सरकारी, गैरसरकारी, शैक्षिक, कृषि, उद्योग तथा व्यापारी छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले देशको बिमा व्यवसायलाई पनि केही हदसम्म प्रभाव पर्ने विश्लेषण सानिमा जनरलको छ । यो अवस्थाले देशको बिमा व्यवसायलाई पनि केही हदसम्म प्रभाव पार्ने देखिन्छ । अर्कातर्फ हाल विश्वव्यापी महामारीका रूपमा देखा परेको कोरोना भाइरसको कारणले गर्दा केही चिन्तित हुनुपर्ने अवस्था आएको छ ।

सानिमा जनरलको चुक्तापुँजी ७० करोड रुपैयाँ छ । ३० करोडको प्राथमिक सेयर (आईपीओ) निष्कासनपछि कम्पनीको पुँजी बढेर १ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओबाट प्राप्त रकममध्ये २९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको निक्षेपमा र बाँकी १ करोड शाखा विस्तारमा खर्च हुने सानिमाले जनाएको छ ।