म्याग्दी। धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जनाभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण भएको छ।
धवलागिरि गाउँपालिका ७ धारापानीका स्वर्गीय लोकबहादुर थापा र आमा चन्द्रकली थापाका नाममा उनका सन्तानले स्थापना गरेको चन्द्र–लोक शैक्षिक कोषमार्फत जेहेन्दार, विपन्न र अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
प्रतिविद्यार्थी ७२० मूल्य बराबरको छ वटा कापी र छवटा कलमका दरले ३१० जनालाई दुई लाख २३ हजार २०० मूल्यबराबरको शैक्षिक सामग्री सहयोग गरेको कोषका अध्यक्ष अर्जुन थापाले जानकारी दिए।
जनकल्याण मावि गुर्जा, लमसुङ मावि, धवलागिरि मावि मुना, धनजनता मावि फलियागाउँ, बुद्धिविकास मावि मुदी, चन्द्रज्योति मावि खिवाङ, जनजागृति मावि मल्कवाङ, जनविकास मावि मराङ, किसानी चन्द्रकुन्ता मावि धारापानी, ताकम मावि र हेम नमूना आवासीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
कक्षा १ देखि १० सम्म वार्षिक परीक्षामा प्रथम भएका, विद्यालयले सिफारिस गरेका विपन्न र अनाथ विद्यार्थी छनोट गरेर पठनपाठनमा सहजताका लागि शैक्षिक सामग्री वितरण गरेको थापाले बताए। कोषले चार वर्षदेखि धवलागिरि गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ।