काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ को कार्यान्वयनमा अटेरी गरेको पाइएको छ ।
विद्युत् नियमन आयोगले जारी गरेको उक्त विनियमावलीमा निर्दिष्ट गरिएका व्यवस्थाको प्राधिकरणले कार्यान्वयन नगरेको हो । विनियमावली विपरीत प्राधिकरणले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको विद्युत उत्पादनको पूर्वानुमानलाई आधार मानी हर्जाना स्वरूप रकम असुल्दै आएको हो ।
विनियमावलीमा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको पूर्वानुमानलाई आधार मानी हर्जाना नलिने प्रष्ट व्यवस्था हुँदाहुँदै प्राधिकरणले हर्जाना असुलेको स्वतन्त्र ऊर्जा उत्पादकहरूले आयोगमा बुझाएको पत्रमा उल्लेख छ ।
निजी ऊर्जा उत्पादकहरूलाई मर्का पर्ने गरी १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई हर्जाना असुलउपर गरेको भए आगामी महिनाको बिलिङ रकममा समायोजना हुने गरी कार्यान्वयन गर्न आयोगले प्राधिकरणलाई पत्राचार गरेको हो ।
त्यस्तै, समान सूत्र प्रयोग गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न पत्राचार गरिएको प्राधिकरणले प्रतिवेदन पेश गरेको छैन । आयोगले तीन महिनाभित्र उक्त प्रतिवेदन पनि पेश गर्न आग्रह गरेको हो ।
विनियमावलीमा बुँदा (क) कार्यान्वयन गर्दा खोला/नदीमा पानीको बहावमा कमी भएको कारणले विद्युत् उत्पादनमा कमी हुँदा विद्युत् खरिदकर्ताले विद्युत बिक्रीकर्तालाई कुनै हर्जाना नलगाउने व्यवस्था छ ।
त्यस्तै, बाढी, पहिरो, भूकम्पलगायतका काबु बाहिरको परिस्थितिमाको कारणले सम्वन्धित प्रसारण लाइन वा सवस्टेसनमा क्षति पुग्न गएमा विद्युत् खरिदकर्ताले बिक्रीकर्तालाई कुनै पनि क्षतिपूर्ति दिनु नपर्ने व्यवस्था छ ।
तर, ती व्यवस्थालाई लत्याएर प्राधिकरणले केही जलविद्युत् आयोजनालाई हर्जाना र क्षतिपूर्ति असुलउपर गरिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूले बताएका छन् ।