काठमाडौं। गत भदौ २४ गते देशभरि भएका प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडमा विविध पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता रहेको निष्कर्ष सार्वजनिक भएको छ। उक्त घटनामा भएको जनधनको क्षतिको छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार सुरुमा भदौ २३ गते मारिएका युवाहरूको समर्थनमा सरकारविरुद्ध सुरु भएको प्रदर्शन चाँडै नियन्त्रणबाहिर गयो। त्यसमा आपराधिक प्रवृत्तिका समूहहरू मिसिए। आयोगले सीसीटीभी फुटेज, स्थलगत निरीक्षण र सरोकारवालासँगको अन्तरक्रियाका आधारमा विभिन्न समूह सडक व्यापारी, कवाडी संकलक, ग्यारेज तथा वर्कशपमा काम गर्ने, सवारी चालक सहचालक, निर्माण मजदुरदेखि सुकुम्बासीसम्म को संलग्नता देखिएको जनाएको छ।
यससँगै कारागारबाट भागेका तथा हिरासतबाट छुटेका केही व्यक्तिहरू पनि घटनामा सक्रिय देखिएको उल्लेख छ। कतिपय स्थानमा राजनीतिक प्रतिशोध र व्यक्तिगत रिसइवीका कारण लक्षित आगजनीसमेत भएको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनले भीड मनोविज्ञानको प्रभाव पनि देखाएको छ। केही ‘जेनजी’ युवाहरू प्रत्यक्ष हिंसात्मक मनसाय नभए पनि भीडको प्रभावमा परेर तोडफोड र आगजनीमा संलग्न भएको निष्कर्ष निकालिएको छ। नेतृत्वविहीन, उद्देश्यविहीन र दिग्भ्रमित युवाहरूको ठूलो सहभागिता रहेको र सार्वजनिक तथा निजी सम्पत्तिको महत्वबारे न्यून चेतना देखिएको प्रतिवेदनमा उल्लेख छ।
विशेषगरी व्यापारिक प्रतिष्ठान, गोदाम, ठूला स्टोर र होटलहरूमा पेट्रोल बम र अन्य रसायन प्रयोग भएको उल्लेख छ।
घटनाको प्रकृति हेर्दा कतिपय स्थानमा सुनियोजित ढंगले आक्रमण भएको संकेत पनि भेटिएको छ। सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनजस्ता संवेदनशील संरचनामा प्रज्वलनशील पदार्थ प्रयोग गरिएको पाइएको छ। डेटा सेन्टर, कागजात कक्ष र सीसीटीभी प्रणालीलाई पहिलो निशाना बनाउने, त्यसपछि लुटपाट र अन्त्यमा आगजनी गर्ने शैली अधिकांश स्थानमा उस्तै देखिएको आयोगको निष्कर्ष छ।
विशेषगरी व्यापारिक प्रतिष्ठान, गोदाम, ठूला स्टोर र होटलहरूमा पेट्रोल बम र अन्य रसायन प्रयोग भएको उल्लेख छ। केही स्थानमा लुटपाटकै क्रममा आगलागी हुँदा संलग्न व्यक्तिहरू नै जलेर मृत्यु भएको घटनासमेत प्रतिवेदनमा समेटिएको छ।
यद्यपि, आयोगले हालसम्मको अनुसन्धानबाट अभियोजनका लागि पर्याप्त ठोस प्रमाण संकलन गर्न नसकिएको जनाएको छ। त्यसैले भदौ २४ का घटनाहरूलाई छुट्टाछुट्टै गहिरो अनुसन्धान गरी दोषी पहिचान गर्नुपर्ने सिफारिस गरिएको छ।