काठमाडौं । लामो समयको लकडाउन र वर्षाका कारण खराब अवस्थामा रहेको सडक मर्मतको काम दसैंअघि नसकिने देखिएको छ ।
सडक विभागका अनुसार, कोरोना भाइरस महामारीको जोखिम दिन प्रतिदिन बढ्दै जाँदा सडक मर्मत गर्ने ‘लेबर’ तथा जनशक्ति डराउन थालेपछि दसैंअघि मर्मत गर्नुपर्ने सडक नबन्ने देखिएका हुन् ।
दसैं सुरु हुन अब ३ दिन बाँकी रहदा विभागअन्तर्गतका रणनीतिक सडकमा खाल्डाखुल्डी छन् भने कतिपय जिल्ला जोड्ने सडक वर्षाका कारण बाढी र पहिरो जाँदा अझै खुल्न सकेका छैनन् । यता, लामो समयदेखिको बन्दाबन्दी र वर्षाका कारणले पनि धेरै सडकको अवस्था दयनीय छ ।
वर्षाले धेरै सडकहरु बिग्रेका छन् । बाढी र भेलले सडक पुरेको छ भने धेरै सडकमा खाल्डाखुल्डी उत्तिकै छन् । दसैं नजिकिएसँगै सडकमा सवारी साधनको चाप बढ्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ ।
अहिले पनि अछाम जोड्ने साँफेबगर–मार्तडी सडक अबरुद्ध छ । गत साउनदेखि बलेना–जडङ्गा जोड्ने बेलिब्रिज लगायतको वर्षासहितको बाढीले बगाएपछि सो सडक अहिलेसम्म पनि अवरुद्ध नै छ ।
त्यस्तै, सोही सडकअन्तर्गत बूढीगंगामा रहेको बेलिब्रिजमा बाढीले क्षति पुर्याएपछि सो सडक खण्ड अवरुद्ध छ । तर, अहिलेसम्म पनि यातायात सहज हुन सकेको छैन ।
दसैंअघि सो सडक एकतर्फी खुलाउन प्रयास गरे पनि कोभिडकै कारणले अप्ठ्यारो परेको सडक विभागको दाबी छ । यसवर्ष सबैभन्दा बढी पानी परेकाले पनि धेरै ठाउँका सडक अवरुद्ध हुन पुगे ।
सडक विभागका अनुसार, झन्डै सय बढी सडक अवरुद्ध सडक हालसम्म आंशिक वा एकतर्फी रूपमा खुलाइएको छ ।
यता, रणनीतिक सडकअन्र्तगत पूर्व–पश्चिम राजमार्गको विभिन्न भागमा सडकको दूरावस्था छ । त्यसखण्ड खाल्डाखुल्डीमुक्त हुन सकेको छैन ।
अरनिको राजमार्गका विभिन्न खण्डमा खाल्डाखुल्डी तथा सडकको पिच नै उप्किएको छ । बीपी राजमार्गको अवस्था पनि उस्तै छ । बेनी–जोमसोम–कोरला सडक खण्डका बीचमा पहिरो तथा बाढीले सडक पूर्ण सञ्चालनमा आउन सकेको छैन । बेसीसहर चामे र कान्ति लोकपथ सडक पनि पूर्णरूपमा खुल्न सकेको छैन ।
राजधानी काठमाडौंबाट बाहिरिने कलंकी–नागढुंगा हुँदै मुग्लिन सडक खण्डमा पनि खाल्डाखुल्डी र केही ठाउँमा पहिरोका कारण सडकको दूरावस्था छ । कलंकी–नागढुंगा खण्डमा सडक मर्मत गर्ने भनिएपछि अहिलेसम्म काम हुन सकेको छैन ।
कोभिड महामारीको जोखिमले कामदार पनि आउन डराउने र ठेकेदारलाई पनि जबर्जस्ती काममा लगाउन नसकिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।
बागबजार र पुतलीसडक क्षेत्रका सडकको मर्मत र निर्माण पूरा गरेको विभागले जनाएको छ । तर, चाबहिलबाट चुच्चेपाटीसम्मको सडक दसैंअघि नै गर्ने भने पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
यता, गौशालातर्फको सडक मर्मत दसैंपछि मात्रै हुने शर्माले बताए । त्यसखण्डमा खानेपानीका पाइप फेर्नुपर्ने र ढल व्यवस्थापन गर्नुपर्ने समस्या छ । यता, मुग्लिन–पोखरा सडक खण्डमा स्तरोन्नतिको काम आंशिक सुरु भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेपछि श्रमिक तथा कामदार पनि ‘साइट’ जान डराइरहेको छन् । दसैंअघि नै सडक मर्मत गर्ने योजना लिए पनि कहाँ–कहाँ मर्मत भयो कहाँ–कहाँ भएन भनेर हेर्न सक्ने अवस्था नरहेको शर्माले बताए ।
‘महामारी झन फैलिँदा लेबरहरु पनि डराएको स्थिति हो । श्रमिक पाउन पनि मुस्किल छ,’ उनले भने, ‘यसअघि लकडाउनमा पनि काम गरेकै हो । यो बेला जबर्जस्ती काम गर्नुस् भन्ने अवस्था छैन ।’