काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दो बिजुलीको माग पूरा गर्न ठूलो प्रसारणलाइन बनाउन प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले ४०० केभी क्षमताको न्यूखिम्ती–काठमाडौं प्रसारण लाइन निर्माणको काम अघि बढाएको हो । प्रसारण लाइनको काम सुरु गर्न जग्गा अधिग्रहणको काम अघि बढाएको विद्युत प्राधिकरणले जनाएको छ ।
निर्माणधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ९९ मेगावाटको तामाकोसी पाँचौंसहित सार्वजनिक तथा निजी लगानीमा निर्माणधीन दुईदर्जन बढी आयोजनाहरुबाट उत्पादन हुने १ हजार मेगावाटभन्दा बढी बिजुली आपूर्तिका लागि सो प्रसारणलाइन निर्माण सुरु हुन लागेको हो । प्रसारण लाइन बनाउन एसियाली विकास बैंक (एडीबी) को ऋण लगानी हुने भएको छ ।
प्रसारणलाइनबाट रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा निर्माणधीन सबै जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय ग्रीडमा जोड्न उक्त प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन निर्माणका लागि आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत लिइसकिएको छ ।
दोलखाको मेलङ गाउँपालिका-साविक मेलुङ गाविस वडा नम्बर १,४ र ५, साविक घयाङ्सुकाठोर गाविस वडा नम्बर १ र साविकको पवटी वडा नम्बर १,२,६ र ८, शैलुङ गाउँपालिका साविकको फस्कु वडा नम्बर १ र भीमेश्वर नगरपालिका साविक गाविस माटी वडा नम्बर ४,५,७,८ र ९, साविकको गाविस मकैबारी वडा नम्बर १,२ र ३, साविकको गाविस बोच वडा नम्बर ६,७ र ८ र साविकको लाकुरीडाँडा वडा नम्बर १,२८ र ९ का विभिन्न ठाउँमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना प्रकाशित गर्दै जग्गा अधिग्रहणका लागि आयोजना प्रभावित क्षेत्रका व्यक्तिलाई ३५ दिनभित्र सरोकारवाला व्यक्तिले मुआब्जा दाबी गर्न आउन भनिएको छ । आफ्नो शकदैया वा भोगचलनसम्बन्धी सबुत, निस्सा तथा प्रमाणसहित रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ ।