काठमाडौं र लामो समयदेखि काम अघि बढन् नसकी अवरुद्ध बनेको १३२ केभी डबल सर्किटको सोलु करिडोर प्रसारणलाइन आयोजना निर्माणको बाँकी काम अघि बढ्ने भएको छ ।
उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको आयोजना निर्माणको अवरोध हटाउने पहल गरेका हुन्। स्थानीयबाट प्रसारण लाइनको बाटो (राइट अफ वें) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर काममा अवरोध हुँदै आएको छ ।
मन्त्री पुनले मंगलबार उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरेका छन् ।
मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए ।
त्यसमा जनतासँग सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तह र जनप्रतिनिधिले महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री पुनले लामो समयदेखि अड्किएको प्रसारण लाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको बताए । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिने छ ।
नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको ठेक्का सम्झौता गरेको थियो ।