काठमाडौं । देशको पूर्वाधारमा लगानी गर्न स्थापना भएको नेपाल इन्फास्ट्रक्चर बैंककको वार्षिक साधारणसभा मंसिर ३ गते बुधबार हुँदैछ । सभाले गत आर्थिक वर्षमा गरेको नाफा नोक्सानको वासलातका साथै प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सभाबाट प्रस्ताव पारित भएपछि बैंकले औपचारिक रुपमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बैंकले सर्वसाधारणलाई ४० प्रतिशत अर्थात ८ करोड कित्ता सेयर छुट्टाएको छ ।
निष्कासन हुन लागेको यो नै हालसम्मकै सबैभन्दा ठुलो रकमको आईपीओ हो । आईपीओ निष्कासनपछि बैंकको चुत्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्नेछ । यस्तै ३ वर्षदेखिको सञ्चित कोषमा जम्मा भएको नाफासमेत जोड्दा बैंकको पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ ।
जलविद्युत, सडक, केवलकारलगायत ठुला उद्योगमा लगानी गर्नका लागि बैंकको स्थापना भएको हो । बैंकमा सरकारको पनि लगानी छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको नाफा १२.३९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत वर्षको यसै अवधिमा बैंकले २० करोड ५६ लाख रुपैयाँ खुदनाफा कमाएको थियो । बैंकको खुदब्याज आम्दानीमा गिरावट आएपछि खुदनाफा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै सञ्चित कोषको आकार बढाउँदा पनि यसको असर नाफामा परेको हो ।
यसअवधिमा खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चित कोषको आकार ८२ प्रतिशत वृद्धि भई १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ ।