सेयरको दोस्रो कारोबार स्थल नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ५२ महिना अघिको उच्च विन्दुलाई पछ्याउने क्रममा साढे ६ अंकले पछाडि छ ।
२०७३ साउन १२ मा १८८१.४५ अंकमा रहेको नेप्से परिसूचकलाई पुनः पछ्याउँदै बुधबार १८७४.८८ मा रोकिएको छ । २०७५ फागुन १९ गते ११००.५८ अंक (यो चक्रको न्यून विन्दु) मा झरेर बढ्न थालेको बजारले गति लिँदै पुरानो रेकर्ड तोड्ने बाटोमा अग्रसर भएको छ ।
कोरोना कहरले लगानीका अन्य क्षेत्र खुम्चिइ रहेका बेला सेयर सूचकले भने दिन प्रतिदिन नयाँ रेकर्ड (आयाम) थप्दै गएको छ । कारोबार रकममा उल्लेखिय वृद्धि देखिएको छ भने सूचकमा पनि हरियाली छाउँदै गएको छ ।
गत आइतबार हालसम्मकै उच्च (६ अर्ब ९० करोड रुपैयाँ) बराबरको कारोबार भएको थियो भने बुधबार चार वर्ष पछिकै उच्च अंक हासिल गरेर अघि बढिरहेको छ । बुधबार पनि ५ अर्ब १३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार पनि ५ अर्ब ४४ करोडको सेयर खरिद बिक्री भएको थियो ।
लगानीकर्ताहरु दैनदिन्न रुपमा सेयर बजारप्रति आकर्षित हुँदै गएका छन् र लगानी बढाइरहेको छ । जसले गर्दा सेयर बजारका बारेमा गाउँदेखि सहरसम्म चर्चा सुरु भएको छ ।
अहिले सेयरका खेलाडीदेखि नयाँ (सिकारु) सम्मले बजारको बुलिस ट्रेड (बढ्दो चक्र) बाट फाइद लिन लालायित छन् । त्यसैको परिणाम बुधबार पनि एक दर्जन बढी कम्पनीहरुको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढ्दा वा घट्दा नेप्सेले सर्किट लगाएर त्यसभन्दा बढी बढ्न वा घट्नबाट रोक्ने गरेको छ ।
बुधबार नेप्सेमा होटलबाहेक अन्य ११ ओटा उपसूचकहरु बढेपछि नेप्से परिसूचक ६४ दशमलव ७ अर्थात ३ दशमलव ५७ प्रतिशतले बढेर १८७४.८१ अंक कायम भएको छ । यो साताको ४ दिनमा मात्रै सेयर बजार सूचक करिब १०० अंकले बढेको छ । गत बिहीबार नेप्से सूचक १७८७.१३ अंकमा थियो । यद्यपि, सोमबार करिब २ अंकले बजारमा करेक्सन आएको थियो ।
बुधबार पनि बजार बढाउन निर्जीवन बिमा, उत्पादनमूलक, जीवन बिमा, लघुवित्त र व्यापार समूहले अहम भूमिका खेलेको छ । त्यसैगरी, बैंकिङ समूहमा समेत ४० अंको वृद्धि देखिएको छ । विगतमा बैंकिङ समूहमा वृद्धि नदेख्दिा बजार दीर्घकालीन रुपमा नबढ्ने हो कि भन्ने आंशकालाई बुधबारको कारोबारले चिरेको छ ।
अहिले पनि कुल बजार पुँजीकरणमा बैंकिङ समूहको हिस्सा मात्रै आधा छ । सेयर कारोबार बढ्नुमा बैंकको ब्याज न्यून विन्दुमा झर्नु, अन्य लगानीका क्षेत्र खुम्चिनु, बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सेयर खरिद बिक्रीका लागि कर्जा दिनु, सूचीकृत कम्पनीले लाभांश घोषणाको प्रतिस्पर्धा हुनु, कठिन परिवेशमा पनि चालू आवको वित्तीय सूचकहरु नकारात्मक र वृद्धि देखिनु, कतिपय कम्पनीहरुले लामो समयदेखि रोकिएका साधारणसभा गर्ने तयारीका सूचनाहरु चुहिनु, हकप्रदको घोषणा गर्नु सकारात्मक पाटा देखिएका छन् भने अर्कोतिर सीमित सेयरहरु सूचीकृत भएका कम्पनीहरुको सेयर मूल्य बढाउन कर्नरिङ गर्ने, सीमित लगानीकर्ताका समूहहरुले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमहरुमा विभिन्न आकर्षक सूचनाहरु प्रवाह गर्ने दक्षिण एसियामै उच्च दरमा रहेको ब्रोकर कमिसन घटाउन दबाब सिर्जना हुनुजस्ता कारणले पनि बजारमा हरियाली छाउन भूमिका खेलेको छ । बजार निरन्तर बढिरहे पनि तत्काल सामान्य करेक्सनका बाटाहरु पनि देखिन्छन् ।
कतिपय लाभांश नदिएका र अफवाहका भरमा सेयरमा लगानी गरेकाहरुले छिटो नाफा बुक गर्ने प्रवृत्ति दोहोरिए सम्भवना रहेकाले बिहीबारको कारोबारमा सामान्य करेक्सन आउने सम्भावान उत्तिकै छ । अन्यथा बिहीबार पुरानो अंकलाई नाघेर अघि बढ्ने सम्भावना उत्तिकै छ ।