काठमाडौं। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनाइन लागेको कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरणका काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
समितिका अनुसार बन्दरगाह निर्माण क्षेत्रमा रुख कटान, जग्गा सम्याउने काम, सडक पहुँच मार्ग, मजदुर आवास भवन बनाउनेलगायत पहिलो चरणको काम सम्पन्न भएको हो।
बन्दरगाह निर्माणार्थ आवश्यक सामग्री र औजार आयात गर्न भन्सार छुटका लागि उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयमार्फत स्वीकृति लिइसकिएको समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए। कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएकाले अब बन्दरगाहा छिट्टै निर्माण अघि बढ्ने उनको भनाइ छ।
बन्दरगाहभित्र सुविधासम्पन्न व्यापार पूर्वाधार, ३५० सवारी अट्ने सडक पार्किङ स्थल, दुई गोदामघर, तौलपुल, कन्टेनर यार्ड, पशुपक्षी खाद्य प्रयोगशालाका संरचना बनाइनेछन्।
दोधारा चाँदनी बन्दरगाह भारतको सहयोगमा निर्माण गर्ने विषयमा नेपाल–भारतबीच सन् २०२३ जुन १ मा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षमा बन्दरगाह निर्माणका लागि नेपालबाट गरिनुपर्ने सबै काम सकिएका हुन्। भारत सरकारले बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड भारु सहयोग गर्नेछ।
बन्दरगाहमा रहेका एक हजार ५९३ वटा रुख कटानसँगै पोल हटाउने काम सकिएको समितिले जनाएको छ। बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य तीन वर्षभित्र राखिएको छ।
यो बन्दरगाह निर्माणछि गुजरातको मुन्द्रापोर्ट र उडिसाको धाम्रापोर्टबाट सामान आयात निर्यात गर्न सकिनेछ। यसले उद्यमी, व्यापारीलाई सस्तो लागत र समय दुवै बचत हुनेछ।
दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टरमा बन्दरगाह निर्माण हुनेछ।
बन्दरगाहभित्र सुविधासम्पन्न व्यापार पूर्वाधार, ३५० सवारी अट्ने सडक पार्किङ स्थल, दुई गोदामघर, तौलपुल, कन्टेनर यार्ड, पशुपक्षी खाद्य प्रयोगशालाका संरचना बनाइनेछन्।