काठमाडौं । निजी बैंकको तुलनामा सरकारी बैंक (नेपाल र राष्ट्रिय वाणिज्य बैंक)को खराब कर्जा बढी देखिएको छ । धेरैजसो बैंकको खराब कर्जामा बढोत्तरी देखिए पनि दुई सरकारी बैंकको खराब कर्जा अझ बढेको पाइएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म नेपाल बैंकको खराब कर्जा ३ दशमलव शून्य २ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४ दशमलव १० प्रतिशत पुगेको छ । जबकी, गत वर्षको असोजमा नेपाल बैंकको खराब कर्जा २ दशमलव ७५ प्रतिशत रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकको ३ दशमलव ५० प्रतिशत थियो ।
यद्यपि, कोरोना भाइरसको महामारीबीच पनि केही निजी बैंकले खराब कर्जा घटाएका छन् । अर्को सरकारी बैंक कृषि विकासले पनि गत वर्षको असोजको तुलनामा चालू आवको असोजमा खराब कर्जा घटाएको देखिएको छ । गत असोजमा ३ दशमलव ७० प्रतिशत खराब कर्जा रहेकोमा चालू आवको सोही अवधिमा २ दशमलव ३७ प्रतिशतमा झारेको छ ।
राष्ट्र बैंकका अनुसार प्रभु, लक्ष्मी, मेगा, सिभिल, सेञ्चुरी, नेपाल क्रेडिट एन्ड कमर्स, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया बैंकले खराब कर्जा घटाएका छन् ।
तर, स्टयाण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआईलगायत बैंकको एनपीएलमा भने बढोत्तरी देखिएको छ । त्यसैगरी, केही बैंकले गत वर्षकै हाराहारीमा एनपीएललाई राखेका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एनपीएल गत वर्षकै जति छ ।