काठमाडाैं। अर्थशास्त्रका पाठ्यपुस्तकहरूमा मुद्रालाई विनिमयको माध्यम, मूल्यको संग्रह र लेखाको एकाइको रूपमा परिभाषित गरिन्छ। तर व्यवहारमा हेर्ने हो भने मुद्रा भनेको एक किसिमको सामूहिक विश्वास वा "कन्फिडेन्स ट्रिक" मात्र हो। मानिसहरूले नोट र सिक्कालाई मूल्यवान मान्ने कारण यिनको भौतिक धातु वा कागजको मूल्यका कारण होइन, अरू सबैले पनि त्यसलाई मूल्यवान मान्छन् भन्ने विश्वासका कारण हो। वास्तवमा हालको अधिकांश मुद्रा त कागज वा धातु समेत होइन, बैंकहरूले कर्जा र निक्षेप सिर्जना गर्दा एक क्लिकमा उत्पन्न हुने "डेटा" मात्र हो।
यो प्रणाली तीनवटा आधारभूत विशेषताका कारण चल्छः पहिलो, एकरूपता- एउटा बैंकको एक डलर अर्को बैंकको वा फेडरल रिजर्भबाट जारी नोटको एक डलरसँग बराबर हुनुपर्छ। दोस्रो, हस्तान्तरणीयता- मुद्रा बैंक, व्यक्ति, व्यवसाय र सरकारबीच सहजै आवतजावत हुन सक्नुपर्छ। तेस्रो, लचकता- आवश्यकताअनुसार मुद्राको आपूर्ति घटबढ हुन सक्नुपर्छ, सामान्य समयमा बैंकहरूले कर्जा विस्तार वा संकुचन गरेर र संकटको बेला केन्द्रीय बैंकले अन्तिम सहायताकर्ताको भूमिका खेलेर।
आर्थिक नीति अनुसन्धान केन्द्र (सीइपीआर) (अर्थशास्त्रीहरूको एउटा अन्तर्राष्ट्रिय सञ्जाल) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यो व्यवस्था प्राकृतिक नभइ केन्द्रीय बैंकको तरलतामा पहुँच, निक्षेप बिमा, बैंक-पुँजी नियमजस्ता संस्थागत संयन्त्रहरूद्वारा टिकाइराखिएको भनी औंल्याएको छ। समय परिवर्तनसँगै यो व्यवस्था पनि परिमार्जित हुँदै आएको छ- कहिले राम्रोका लागि, कहिले नराम्रोका लागि। हाल डिजिटल प्रविधिमा आइरहेको छिटो परिवर्तनले यस व्यवस्थाका सञ्चालकहरूसामु एउटा गम्भीर प्रश्न खडा गरेको छः प्रणालीलाई सुरक्षित राख्दै कसरी अझ प्रभावकारी बनाउने?
यसै सन्दर्भमा नियामक निकायहरूको ध्यान अहिले सबैभन्दा बढी स्टेबलकोइनतर्फ केन्द्रित छ। सीइपीआरको प्रतिवेदनमा र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआइएस) (जसलाई केन्द्रीय बैंकहरूकै केन्द्रीय बैंक पनि भनिन्छ) को छुट्टै अध्ययनमा समेत यही विषय केन्द्रमा रहेको छ।
स्टेबल क्वाइन भनेको निजी कम्पनीहरूले जारी गर्ने डिजिटल मुद्रा हो, जुन बिटकोइनजस्ता परम्परागत क्रिप्टोकरेन्सीभन्दा फरक हुन्छ। बिटकोइनको मूल्य बजार माग र आपूर्तिअनुसार उतारचढाव हुन्छ भने स्टेबल क्वाइन जारीकर्ताले आफ्नो मुद्राको मूल्य कुनै निश्चित सम्पत्ति (प्रायः अमेरिकी डलर) सँग बाँधेर स्थिर राख्ने प्रतिबद्धता जनाउँछन्।
बीआइएसको अध्ययनअनुसार फियट मुद्रामा जोडिएका स्टेबलकोइनहरूमध्ये मूल्यका आधारमा ९९.४ प्रतिशत अमेरिकी डलरसँगै बाँधिएका छन्। यस क्षेत्रमा दुई प्रमुख जारीकर्ता छन्ः अल साल्भाडोरमा दर्ता भएको कम्पनी टेथरले जारी गर्ने युएसडीटी र न्युयोर्क-स्थित सर्कलले जारी गर्ने यूएसडीसी। यी दुवै कम्पनी आफैंमा बैंक होइनन्, सर्कलको आफ्नै एउटा बैंकिङ सहायक कम्पनी भने छ। यी डलर-आधारित स्टेबल क्वाइनहरू मुख्यतः अमेरिकी ट्रेजरी बिल, रिभर्स रिपो र बैंक निक्षेपले ब्याकअप गरिएका हुन्छन्, यद्यपि टेथरसँग तुलनात्मक रूपमा बढी प्रतिफल दिने केही थप जोखिमपूर्ण सम्पत्ति पनि रहेको बताइन्छ।
हाल यी सबै स्टेबल क्वाइनको कुल मूल्य ३०० अर्ब डलरभन्दा बढी पुगिसकेको छ, जुन बजारमा कारोबार हुने कुल अमेरिकी ट्रेजरीको लगभग १ प्रतिशत बराबर हो।
हाल स्टेबल क्वाइनको प्रयोग मुख्यतः क्रिप्टो सम्पत्तिको कारोबारमै सीमित छ। तर विशेषज्ञहरूका अनुसार यसले भुक्तानी प्रणालीलाई थप सहज र वित्तीय क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन सक्ने थुप्रै सम्भावना बोकेको छ।स्मार्ट कन्ट्र्याक्टसँग जोडिँदा स्टेबल क्वाइनले बैंक र वकिलको लामो शृंखला नकाटीकनै भुक्तानी र सेटलमेन्ट प्रक्रियालाई छिटो बनाउन सक्छ। यसले परम्परागत माध्यमभन्दा छिटो र सस्तो अन्तरदेशीय भुक्तानीको सम्भावना पनि देखाउँछ। यसबाहेक विकासोन्मुख अर्थतन्त्रहरूमा, जहाँ स्थानीय मुद्रा अपेक्षाकृत अस्थिर वा अविश्वसनीय मानिन्छ, त्यहाँका सर्वसाधारण र व्यवसायीहरूका लागि डलरसम्मको पहुँच दिलाउने माध्यमका रूपमा पनि स्टेबल क्वाइनको लोकप्रियता बढ्दै गएको छ।
विनिमयको माध्यमका रूपमा यसको प्रयोग अझै सीमित र विशेषीकृत छ; लेखाको एकाइका रूपमा यसको पहिचान समेत डलरबाटै सापटी लिइएको हो, आफ्नै होइन। सबैभन्दा ठूलो कमजोरी भनेको यसमा एकरूपता अभाव हो। समय-समयमा डलर-आधारित स्टेबल क्वाइन मूल्य १ डलरको तोकिएको दरबाट चिप्लिएको देखिएको छ, यद्यपि प्रायः धेरै ठूलो मात्रामा होइन। यसका उदाहरणका रूपमा सन् २०२३ मा सिलिकन भ्याली बैंक धराशायी हुँदा यूएसडीसीको मूल्य केही समयका लागि ८८ सेन्टसम्म खस्केको घटनालाई लिन सकिन्छ। किनभने सर्कलले आफ्नो नगद त्यही बैंकमा जम्मा गरेको थियो। यस घटनापछि सर्कलले सुरक्षाका लागि अहिले आफ्नो ७४.१ अर्ब डलर धरौटी सम्पत्तिमध्ये १२.३ अर्ब डलर धेरै ठूला र सुरक्षित मानिने बैंकहरूमा राखेको छ।
सीइपीआरको प्रतिवेदनले लचकतामा पनि प्रश्न उठाएको छ। संकटको बेला ठूलो परिमाणमा रकम फिर्ता माग आउँदा स्टेबल क्वाइन जारीकर्ताहरूसँग केन्द्रीय बैंकको जस्तो अन्तिम सहायताको सुनिश्चितता नहुने भएकाले यिनलाई तत्काल त्यो माग धान्न कठिन हुन सक्छ। यसै कारण विश्लेषकहरूले स्टेबल क्वाइनलाई बैंक निक्षेपभन्दा बरु मुद्रा-बजार कोष (मनी-मार्केट फन्ड) सँग तुलना गर्ने गरेका छन्।
बीआइएसको अध्ययनले स्टेबल क्वाइनसँग जोडिएका थप जोखिमहरू पनि औंल्याएको छ। ब्लकचेनमा हुने अवैध वित्तीय गतिविधिको ठूलो हिस्सा स्टेबलकोइनमार्फत नै हुने गरेको र यसमा एउटा रुसी रुबल-आधारित स्टेबलक्वाइनको सबैभन्दा ठूलो भूमिका रहेको ब्लकचेन अनुसन्धान संस्था चेनएनालिसिसको हालैको प्रतिवेदनमा उल्लेख छ।
डलर-आधारित स्टेबलक्वाइनको बढ्दो प्रयोगले विकासोन्मुख अर्थतन्त्रका सर्वसाधारण र व्यवसायीहरूलाई फाइदा पुर्याए पनि त्यहाँका केन्द्रीय बैंकहरूका लागि भने यो चिन्ताको विषय बनेको छ। यसले ती देशका केन्द्रीय बैंकहरूको "सेन्योरेज" अर्थात् मुद्रा निर्माणबाट हुने आम्दानी (मुद्राको मूल्य र त्यसलाई सिर्जना गर्न लाग्ने नगण्य लागतबीचको फरक) गुमाउने र तिनका मौद्रिक नीतिका उपकरणहरू कम प्रभावकारी बन्ने जोखिम बढाएको छ। सरकारहरूका लागि भने स्टेबलक्वाइन उनीहरूको ऋणपत्रमा थप माग सिर्जना गर्ने एउटा उपयोगी स्रोत हुन सक्छ, तर कुनै स्टेबलकोइनमा एकैचोटि ठूलो मात्रामा रकम फिर्ता माग (रन) आएमा त्यो सरकारका लागि पनि चिन्ताको विषय बन्न सक्छ।
स्टेबलक्वाइनलाई नियमन गर्ने कानून र प्रस्तावहरूको बाढी नै विश्वभरका नीति-निर्माताहरूबीच आइरहेको छ। यी कानूनहरूमा केही समानता भने देखिन्छन्। लगभग कुनै पनि देशले स्टेबलक्वाइन जारीकर्तालाई ब्याज तिर्न अनुमति दिन खोजेको छैन, किनभने त्यसो गरे उनीहरू सोझै बैंक निक्षेपसँग प्रतिस्पर्धी बन्नेछन्। यद्यपि आगामी वर्षदेखि लागू हुने अमेरिकाको "जिनियस एक्ट" ले वितरकहरूलाई भने केही प्रकारको "रिवार्ड" दिन अनुमति दिएको छ। सबैजसो कानूनले स्टेबल क्वाइनको मूल्यमा नै फिर्ता (रिडेम्सन) सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेका छन्, यद्यपि त्यो फिर्ता कति छिटो हुनुपर्छ भन्नेमा प्रायः स्पष्टता छैन।
धेरैजसो नियमले स्टेबलक्वाइनलाई छोटो अवधिको तरल सम्पत्तिले नै ब्याकअप गर्नुपर्ने व्यवस्था गरेका छन्। जस्तै, बेलायतको केन्द्रीय बैंकले यसकाे ३० प्रतिशत रकम केन्द्रीय बैंकमै निक्षेपको रूपमा र बाँकी ७० प्रतिशत छोटो अवधिका सरकारी ऋणपत्रमा राख्नुपर्ने प्रस्ताव गरेको छ। सर्कलका प्रमुख कार्यकारी अधिकृत जेरेमी एलेयरका अनुसार यस्तो पूर्ण ब्याकअपले स्टेबलक्वाइनलाई सामान्य बैंक निक्षेपभन्दा उल्लेख्य रूपमा सुरक्षित बनाउँछ, किनभने बैंक निक्षेपको भने सानो अंश मात्र यस्तो सुरक्षित सम्पत्तिले ढाकिएको हुन्छ। यता युरोपेली संघमा भने स्टेबलक्वाइन ब्याकअपको न्यूनतम अंश बैंक निक्षेपमै राख्नुपर्ने व्यवस्था छ, जुन बेलायती मोडेलभन्दा फरक हो।
केन्द्रीय बैंकको सुविधामा पहुँचको हकमा पनि देश-देशबीच भिन्नता छ। बेलायतले स्टेबलक्वाइन जारीकर्तालाई समेत अन्तिम सहायताकर्ताको सुविधा दिने विषयमा विचार गरिरहेको छ भने अमेरिकाले यो सुविधा परम्परागत बैंकहरूका लागि मात्र सीमित राख्ने योजनामा छ, यद्यपि फेडरल रिजर्भले गैर-बैंक जारीकर्तालाई भुक्तानी र सेटलमेन्टका लागि खाता दिने सम्भावना भने बाँकी छ। युरोपेली संघमा भने स्टेबलकोइनका लागि कुनै पनि प्रकारको केन्द्रीय बैंक सहयोगको व्यवस्था छैन।