काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूले समयमै बिमा दायित्व निर्धारण एवं दाबी भुक्तानी नगरे उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बिमासम्बन्धी कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत काम गरेको गुनासा आएपछि प्राधिकरणले सर्वसाधारणलाई सूचनामार्फत उजुरी दिन आग्रह गरेको हो। प्राधिकरणले कारबाहीका लागि प्रमाणसहित उजुरी पेस गर्न भनेको छ।
यदि कुनै बीमक, बीमक कर्मचारी, बिमा सर्भेयर वा अन्य कुनै पक्षले दुःख दिए, गलत विवरण तयार गरेको भए वा तथ्य लुकाएको पाइए उजुरी गर्न सकिनेछ। तथ्य तोडमरोड, पक्षपातपूर्ण मूल्यांकन, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्ता कार्यमा संलग्न व्यक्तिविरुद्ध बिमा ऐन, २०७९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ।
उजुरी पेस गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बिमा कम्पनीको नाम र समस्याको बेहोरा खुलाउनुपर्नेछ। बिमा दाबी नम्बर तथा बिमालेख नम्बर र दाबीलाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण आवश्यक पर्ने सूचनामा उल्लेख छ।
सर्वसाधारणले विभिन्न माध्यमबाट उजुरी पेस गर्न सक्नेछन्। ग ललितपुरको कुपन्डोलस्थित बिमा प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भई उजुरी दिन सकिने छ। प्राधिकरणको ईमेल ठेगानामा उजुरी पठाउन सकिने सूचनामा भनिएको छ।
