काठमाडौं। लामो समयदेखि सुस्ताएको नेपालको घरजग्गा बजार चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा उत्साहजनक रूपमा तंग्रिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको "घरजग्गा कारोबार प्रवृत्ति तथा स्थिति प्रतिवेदन" ले राष्ट्रिय स्तरमा घरजग्गाको कारोबार संख्या, कुल मूल्य र यसबाट उठ्ने राजस्वमा उल्लेख्य वृद्धि देखाएको छ।
समीक्षा अवधिमा घरजग्गाको कुल कारोबार संख्या गत वर्षको तुलनामा ६.४२ प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्ष यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। तथ्यांकले देखाएअनुसार समीक्षा अवधिमा कुल १ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ७ करोड रुपैयाँको तुलनामा झन्डै ८३ प्रतिशतले बढी हो। बजारमा गतिशीलता फर्किएसँगै बैंकिङ क्षेत्रको लगानी पनि उकालो लागेको छ। घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जा, जसमा आवासीय घरजग्गा कर्जा पनि समावेश छ, ५.५५ प्रतिशतले वृद्धि भएको छ। यसको प्रत्यक्ष सकारात्मक असर सरकारी ढुकुटीमा समेत परेको छ। प्रतिवेदनअनुसार घरजग्गा कारोबारबाट उठ्ने राजस्व २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकरमा त झन् ३१.४२ प्रतिशतको उच्च वृद्धि भएको छ।
भौगोलिक दृष्टिले हेर्दा घरजग्गा कारोबारमा बागमती प्रदेशले स्पष्ट दबदबा कायम गरेको छ। यहाँ राजीनामा कारोबार संख्या सबैभन्दा बढी ३३.०१ प्रतिशतले वृद्धि भएको छ। यसको ठिक विपरीत, मधेश प्रदेशमा भने यस्तो कारोबार ४.९७ प्रतिशतले खुम्चिएको छ। महानगरपालिकाहरूको हकमा काठमाडौंको उदाहरण उल्लेखनीय छ। यहाँ घरजग्गाको कुल कारोबार संख्या १०८.४२ प्रतिशतले दोब्बरभन्दा बढी हुँदा कारोबारको कुल मूल्यमा भने तेब्बरभन्दा बढी अर्थात् २२३.१२ प्रतिशतको उछाल आएको छ। काठमाडौंपछि पोखरा, ललितपुर र वीरगन्ज महानगरपालिकाहरूमा पनि कारोबार संख्या क्रमशः वृद्धि भएको देखिन्छ।
प्रतिवेदनले नेपाली घरजग्गा बजारमा अहिले साना टुक्रा जग्गाको माग उच्च रहेको समेत देखाएको छ। सातै प्रदेशमा २.५ देखि १० आनासम्मका क्षेत्रफल भएका प्लटहरू सबैभन्दा बढी कारोबार भएका छन्, जसले आवासीय प्रयोजनका लागि साना जग्गामा सर्वसाधारणको आकर्षण बढ्दै गएको संकेत गर्छ। उप-महानगरपालिकाहरूमध्ये बुटवलले सबैभन्दा बढी ५६.७९ प्रतिशत कारोबार वृद्धि दर्ता गराएको छ भने दाङको तुलसीपुर उप-महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ४२.७४ प्रतिशत र कुल मूल्य १३४.४६ प्रतिशतले बढेको छ। यद्यपि नेपालगन्ज र कलैया उप-महानगरपालिकामा भने कारोबारको क्षेत्रफलमा गिरावट देखिएको छ।
बैंक कर्जामा आएको सहजता र लगानीकर्ताहरूको बढ्दो आत्मविश्वासका कारण घरजग्गा क्षेत्र फेरि एकपटक अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधारको रूपमा देखा परेको छ।