काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आइतबार भिडियो कन्फ्रेन्समार्फत छलफल भएको छ ।
उक्त छलफलमा माननीय अर्थमन्त्रीले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरूबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुसी व्यक्त गरे ।
उनले कोभिड–१९ महामारीको कठिन परिस्थितिमा स्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले र्याटपिड क्रेडिट फ्यासिलिटिमार्फत नेपाललाई गरेको सहयोग तथा सीसीआरटीअन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे ।
अर्थमन्त्री र कोषका पदाधिकारीबीच कोभिड–१९ ले बढी प्रभाव पारेको क्षेत्रहरू र सो लगायत समग्र आर्थिक पुनरुत्थानका गति थप तीव्र बनाउने लगायतका विषयमा छलफल भयो ।
सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रूपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पु¥याउने धारणा राखेका थिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमाका सदस्य मुलुकहरूबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिनुहुँदै न्यून आय भएका मुलुकहरूलाई थप कुनै अतिरिक्त भार बेगर सापेक्षिक रूपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने बताए ।
उक्त छलफलमा कोषका पदाधिकारीहरूले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रमको तयारीको पछिल्लो प्रगतिका बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए । साथै, आर्थिक पुनरुत्थानका लागि कोषले नेपालसँग थप सहकार्य गर्दै जाने समेत बताए ।