काठमाडौं । ठूला र राम्रा भनिएका बैंकहरूको लाभांश घोषणामा ढिलाइ भएको छ । यसले सेयर लगानीकर्ताहरू समेत अलमलमा परेका छन् ।
सबैभन्दा राम्रो लाभांश दिने भनेर अपेक्षा गरिएको नबिल, एनएमबी बैंक, प्रामइ कमर्सियल बैंक, इन्भेष्टमेन्ट बैंक, एनसीसी, हिमालयन बैंकको लाभांश घोषणामा ढिलाइ भएको छ ।
बैंकहरूले केन्द्रीय बैंकमा लाभांश स्वीकृतिका लागि पठाए पनि त्यहाँबाट स्वीकृत भएर नआएकाले रोकिएको बैंकहरूले बताएका छन् ।
वित्तीय विवरणमा केही समस्या छ कि भनेर अध्ययन गर्ने हुँदा केही समय लाग्ने गर्छ । तर, उसले पनि लामो समय रोकेर राख्न मिल्दैन । यद्यपि, बैंकहरूले बिनाकारण रोकेर राखेको बताउने गरेका छन् ।
एक बैंकरका अनुसार राष्ट्र बैंकले केही समस्या देखाएकाले लाभांश स्वीकृत भएको छैन । ‘कारण केही उल्लेख गरेको छैन,’ ती बैंकरले भने, ‘तर, केन्द्रीय बैंकबाट स्वीकृति भने आएको छैन ।’
खासगरी ठूला बैंकहरूकै लाभांश घोषणामा ढिलाइ भइरहेको छ । बैंकहरू, सेञ्चुरी, कुमारी, सिटिजन्स्, एभरेष्ट, कुमारी, लक्ष्मी, प्रभु, सानिमा, ग्लोबल, एनआईसी एसियालगायत बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
यदि बैंकहरूले पुसमसान्तसम्ममा साधारणसभा गर्न सकेनन् भने नेपाल स्टक एक्स्चेञ्जले गर्ने वर्गिकरणकाे क समूहमा पर्दैनन् ।