काठमाडौं । रुपादेवी खतिवडाले जब आईएमई ग्रुपले खडा गरेको भरोसा कोषबाट राहत रकमको चेक हातमा लिइन्, उनले आफ्नो धैर्यतालाई थामिराख्न सकिनन् ।
उनको आँखा रसाएसँगै चेक हस्तान्तरण गर्न बसेका ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको पनि आँखा रसायाे ।
माहोल एकाएक शून्यतामा झर्यो । आईएमई ग्रुपले वैदेशिक रोजगारीका क्रममा कोरोना भाइरस(कोभिड–१९) को कारण ज्यान गुमाएकामध्ये ७९ जनाको परिवारलाई राहत स्वरुप प्रतिपरिवार ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

त्यो क्रममा खतिवडाको मात्र होइन, त्यहाँ उपस्थित अधिकांशको आँखा रसाएको थियो । चेक लिन आएका हर्कमाया माझी, कृष्णाकुमारी राई, उमादेवी शर्मा, ज्ञानु शर्मा, धना गुरुङ र हिमादेवी कार्कीको आँखा रसाउँदा प्रायः सबै भावुक बनेका थिए ।
ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफू कोरोना भाइरसको कारण मृत्युको मुखबाट फर्किएर आएको बताउँदै त्यो अवधिमा आफ्ना परिवारलाई परेको पीडा सम्झदै ज्यान गुमाएकाहरूको परिवारको पीडामा मल्हम लगाउने सोचका साथ भरोसा कोष खडा गरेको बताए ।

भाइरसको कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी त्यो पीडामा केही सहयोग गर्न सकिन्छ किन भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको उनले बताए ।
ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही सहयोग पुग्ने उल्लेख गर्दैै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्रकै लागि अपुरणीय क्षति भएको बताए ।

ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोरोनाले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई मात्र भएको बताए । ब्राण्ड एम्बासडर गिरीले दुःखको बेलामा साथ दिने आईएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए ।

त्यस्तै अर्का ब्राण्ड एम्बासडर निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आईएमईले स्थापना गरेको भरोसा कोष आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताइन् ।