काठमाडौं । मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुविधासम्पन्न कार्यालय घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज सोमबार एक कार्यक्रमबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी हुन् ।
कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । मन्त्री अर्यालले नमुना कार्यालयका रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरीक्षण समेत गरेकी छिन् ।
साँखु मालपोत कार्यालय साँच्चिकै नमुना बन्न सक्नुपर्ने भन्दै मन्त्री अर्यालले सधैं कर्मचारीलाई मात्र दोष दिएर अरू निकाय पञ्छिन नमिल्ने बताइन् । उनले ६२ ओटा कार्यालयमा श्रेस्तालाई स्क्यानिङ गरेर २५ ओटा कार्यालयमा भूसेवा केन्द्र स्थापना गरेको बताइन् ।
काठमाडौं जिल्लाका ६ ओटा मालपोत कार्यालयमध्ये साँखु मालपोत कार्यालय पनि एक हो । यसले काठमाडौंको पूर्वी क्षेत्रका १२ गाविस र तीन ओटा नगरपालिकाको जग्गा प्रशासनसम्बन्धी कार्य हेर्दछ ।
जनताले जग्गा प्रशासनसम्बन्धी काम गर्दा आउने गुनासालाई निराकरण गरेर यो कार्य छिटो छरितो, प्रभावकारी र वैज्ञानिक बनाउन सरकारले यस वर्षको बजेटमा आधुनिक जग्गा प्रशासन, पारदर्शिता र सुशासन भन्ने नाराका साथ विभिन्न कार्यक्रम ल्याएको छ ।
यसअन्तर्गत जग्गा प्रशासनसम्बन्धी सेवालाई आधुनिकीकरण गर्ने, नवीनतम प्रविधिको प्रयोग गरेर यसलाई वैज्ञानिक र व्यवस्थित बनाउने र भूमि लगतलाई स्क्यान गरेर डिजिटलाइज्ड गर्ने कार्य अगाडि बढाइएको छ ।
त्यसैगरी मालपोत कार्यालयमा पूर्वाधारको विकास गरेर सेवाग्राहीमैत्री बनाउने प्रयास गरिएको छ । साथै मालपोत कार्यालयमा सीसीटीभी जडान गरी कामकारबाहीको अनुगमन गर्ने गरिएको छ ।
साँखु मालपोत कार्यालयमा पनि विभिन्न सेवा तथा सुविधा थप गरेर आधुनिक सुविधा सम्पन्न कार्यालय बनाइएको छ ।