काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिने भएको छ । सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिन ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले कर्जाको अवधि बढाउन सहमत भएको छ ।
कम्पनीले रसुवामा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत करिव १४ अर्ब रुपैयाँ छ ।
आयोजना सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा कम्पनी पुग्ने रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए ।
उनले दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिने तयारी भइरहेको जानकारी दिए । लाभांश वितरणका लागि ऋणको अवधि बढाउन सञ्चय कोष सकरात्मक भएको छ । यति नै लाभांश दिने निश्चित भन्न नसकिए पनि दोस्रो वर्षमा वितरण गरिने कोइरालाले स्पष्टपारे ।
रसुवागढी चिलिमे हाइड्रोपावर लिमिटेडको सहायक कम्पनी हो । रसुवागढीले नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्छ । आयोजना आउँदो असारसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
आउँदो फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा केही महिना परसरेको छ । हालसम्म ७० प्रतिशत काम सकिएको उनले बताए । आयोजनाबाट वार्षिक ६० करोड युनिट बिजुली उत्पादन हुने छ ।
कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण लगानी गर्न संस्थाका कर्मचारी र संस्थापक लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेका छन ।
सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । अब आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्ने कोइरालाले जानकारी दिए । भूकम्पले गर्दा ठुलो क्षति भएपछि स्थानीयबासिन्दासंग लगानी गर्न रकम नभएपछि आईपीओ निष्कासन पछि सारिएको हो ।
रसुवागढी जनताको जलविद्युतमा समावेश गरिएको छ । ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
सञ्चय कोषले आयोजनाको ब्याजदर घटाएर १०.७५ प्रतिशतमा झारेको छ । ब्याजदर घटेपछि आयोजनाका लागत पनि कम हुने देखिएको छ । रसुवागढी आयोजना नेपाल र चीन सीमा नजिक रहेको छ ।
वर्षादको कामले सडक अवरुद्ध हुँदा आयोजनाको काम प्रभावित भइरहेको छ ।
यस्तै निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीले पनि सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । सञ्चय कोषले ऋण तिर्ने समय बढाएको छ ।