काठमाडौं। बिहीबार १६५ सिटका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेताहरुदेखि एमाले अध्यक्ष केपी ओलीसम्मले पराजय भोग्ने निश्चित भइसकेको छ।
कांग्रेस सभापति गगनकुमार थापासमेत ‘रेड जोन’मा परिसकेका छन्। सर्लाही ४ बाट उम्मेदवार रहेका थापा पछिल्लो मतगणनाअनुसार रास्वपाका अमरेशकुमार सिंहभन्दा करिब ६००० बढी मतान्तरले पछि छन्। यद्यपि मतगणना जारी रहेकाले अझै हारजितको टुंगो लागेको छैन।
पछिल्लो मतगणनाअनुसार रास्वपाले हालसम्म ३२ सिटमा विजयी भएको छ भने ८७ सिटमा अगाडि छ। यस्तै, समानुपातिकको मत गणनामा पनि पहिलो नम्बरमा रहेकाले बहुमततिरको आँकडा पछ्याउन थालेको देखिएको छ।
यी हुन हालसम्म विजयी उम्मेदवार
बझाङमा एमालेका उम्मेदवार महर विजयी
प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हो। कूल ५७ हजार ९९४ मत खसेका मा महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनीका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए।
यस्तै नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत बनेपालीले बताए।
पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी
पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ। कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन्। पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए।
काठमाडौं –२ मा रास्वपाका केसी निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन्। उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याइन्। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन्।
काठमाडौंँ–४ मा रास्वपाका बम निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन्। उनी २९ हजार १४२ मत प्राप्त गरी नर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।
बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको निर्वाचित

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्। २२ हजार ८५० मतका साथ पुन निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छ। बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनले ५४ हजार ४०२ मत प्राप्त गरे। नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्।
यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए।
लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए। यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी थिए।
महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए।
त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत ल्याएको जनाइएको छ।
बाँके–३ मा रास्वपाका सुनार निर्वाचित
बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन्। उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएका क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए।
सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छ। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन्। बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन्। क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन्।
रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित
रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन्। नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे। सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो।
कालीकोटबाट नेकपाका शाही विजयी
कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे। ९ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हो।
नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरेका छ। त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाउनुभयो।
नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए। विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेका थिए।
बिहीबार १६५ सिटका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेताहरुदेखि एमाले अध्यक्ष केपी ओलीसम्मले पराजय भोग्ने निश्चित भइसकेको छ। रास्वपाले काठमाडाैं उपत्यका, माेरङमा क्लिन स्वीप गरिसकेकाे छ भने रूपन्देही, झापालगायत जिल्लामा पनि गर्ने करिब निश्चित।
तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गरेका मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए।
उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे।
प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन्।
स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी
स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन्। शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए। उनले १८ हजार ८५७ मत प्राप्त गरे। नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भएका छन्। उनले १६ हजार ८०४ मत प्राप्त गरेका हो। स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो, जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो।
रास्वपाका उम्मेदवार गुरुङ विजयी
गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार बिना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन्। समाजसेवा र व्यवसायबाट राजनीतिमा लाग्नुभएकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन्।
बिनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिए। कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो। बिना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी भएकी हुन्।
मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए।
निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उनीका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरेका छन्।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो। विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए।
बाँके–१ मा रास्वपाका चौधरी निर्वाचित
बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए।
चौधरीको निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरे। यसैगरी एमालेका सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताए।
बाँके २ मा एमालेका राई निर्वाचित
बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरे।
धनुषा–३ मा रास्वपाका झा विजयी
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले ९ हजार ७८६ मत प्राप्त गरिन्।
काठमाडौँ–९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित
काठमाडौँ–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए।
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन्।
यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बने भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेकाे कार्यालयले जनाएको छ।
दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित
दैलेख, २३ फागुनः दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए। निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन्।
काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन्।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरेका छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गरेका छ। सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए।
नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासले आफूहरु अत्यन्तै कृतज्ञ भएको उल्लेख गर्दै यो परिणाम कुनै व्यक्तिगत विजय नभई यस क्षेत्रका नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताए। ‘आजबाट हाम्रो कर्तव्य अझ ठूलो भएको छ। वास्तविक विजय आज होइन। आगामी पाँच वर्षमा जनताको विश्वास जोगाएर, इमानदारीका साथ काम गरेर, परिवर्तनको परिणाम देखाउन सकेपछि मात्र हाम्रो विजय पूर्ण हुनेछ,’ उनले भने।
कास्की ३ मा रास्वपाकी गुरुङ विजयी
कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बनेकी छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बनेका मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ।
निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो बन्नुुभयो भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बने।
त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरे।
कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७ मत खसेको थियो। निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन्।