काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले पुँजी बढाउन थप २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते १९ औं वार्षिक साधारणसभा बोलाएको छ । सभामा बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी ३९ करोड ३७ लाख रुपैयाँ पुर्याउन बैंकले जनाएको छ ।
यस्तै बैंकले नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत अर्थात ६ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
यो हकप्रद सेयर निष्कासन गर्न बाँकी छ । पहिलो हकप्रद सेयर निष्कासनपछि दोस्रो ल्याउने तयारी बैंकको छ । पहिलो हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।
सभाले बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ख वर्गको जिल्लास्तरका विकास बैंकको न्यूनतम चुक्तापुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थासंग मर्जर र समाहित प्रक्रियामा सहमागी हुनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै लगानी थप्नका लागि रणनीतिक साझेदार ल्याउने प्रस्ताव सभामा पेश हुने बैंकले जनाएको छ । यसका लागि चलअचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) गर्ने भएको छ ।
नारायणी सबैभन्दा कम पुँजी हुनेमा दोस्रो विकास बैंक हो । खोटाङमा रहेको साल्पा विकास बैंकको पुँजी सबैभन्दा कम रहेको छ । साल्पाको पुँजी २ करोड ८० लाख रुपैयाँ मात्र छ ।
नेपाल राष्ट्र बैंकबाट नारायणीलाई ३ जिल्लामा कारोबार गर्न स्वीकृति पाएको हो । जसअनुसार बैंकको कार्यक्षेत्र चितवन, मकवानपुर र नवलपरासी जिल्ला मात्र हो । राष्ट्र बैंकले २०७४ सम्म ३ जिल्लामा बैंकिङ कारोबार गर्ने बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ तोकेको छ ।
चितवन र नवलपरासी बेग्लै प्रदेशमा पर्ने भएकाले जिल्ला छाड्ने वा केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजी पुर्याउनु पर्ने दबाब नारायणीलाई छ ।
पछिल्लो समयमा प्रकाशित वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा ७३.२६ प्रतिशत छ । उसले धेरै ऋण असुली गर्न बाँकी छ । यसले वित्तीय अवस्था अझै पनि संकटमा रहेको देखाउँछ ।