काठमाडौं । सिटिजन्स् बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक किन्ने भएको छ । सिटिजन्स् बैंककातर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजङ्ग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडकातर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले मर्जर सम्बन्धित हस्ताक्षर गरेका हुन् ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति एक्विजिसनसम्बन्धी विनियमावलि २०७३ बमोजिम सो सम्झौता सम्पन्न भएको हो ।
सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ मिसन प्राप्त गर्ने सम्झौता गरेको हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ ।
बैंकको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुनेछ ।
२०७७ साल पुस २२ गते बुधबारसम्मको तथ्याकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२४ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यस्तै, सर्वसाधारणलाई दिएको लगानी करिब १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा १५३ हुनेछ । सहमतिअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका सेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडको ९६ किता शेयर पाउने सहमति भएको छ ।
सिटिजन्स् बैंकको चुक्ता पुँजी अहिले ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ११ अर्ब १६ बरोड रुपैयाँ हनेछ ।