काठमाडौं । कोटा प्रणालीका कारण व्यवसाय खुम्चिंदै गएको सुनचाँदी व्यवसायीले गुनासो गरेका छन । नेपाल सुचनाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकृष्ण विश्वकर्माले व्यावसायिक वातावरण नहुँदा खुम्चिएर व्यवसाय सञ्चालन गर्नुपरेको बताएका छन् ।
सरकारले सुनको कारोबार गर्न दैनिक कोटा तोकिँदा खुला रुपमा व्यवसाय गर्न नपाएको भन्दै पुराना संस्कृति, परम्परा र इतिहास कायम राख्न व्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरे । “विसं २०६६ देखि हामी व्यवसायीलाई सुनको कारोबार गर्न कोटा तोकिएको हो ।
शुरुआति दिनहरुमा दैनिक २० किलो सुनको बिक्री वितरणको अनुमति भएकोमा हाल घटाउँदा घटाउँदै १० किलोमा झारिएको छ, बजारमा माग धेरै छ, तर हामीसँग तोकिएको परिमाण मात्र बेच्ने अनुमति छ”, उनले भने ।
उनले सुनचादीँ व्यवसायमा मात्र देशभर ५० अर्ब रुपैयाँ बढी लगानी भएको र वार्षिक रुपमा १२ अर्ब रुपैयाँ बढी राजश्व बुझाउँदै आएको जानकारी दिए । हामीले यतिधेरै राजश्व सरकारलाई बुझाउने गरेको भए पनि सहज रुपमा सुनका लागि आवश्यक पर्ने कच्चा पदार्थसमेत नपाएको उनको गुनासो थियो ।
उनले व्यावसायिक नीति, नियम, निर्देशिका, नियमावली, ऐन र कानून नबन्दा ऐन कानूनबिना नै सरकारले व्यवसायीलाई विभिन्न समयमा बजार अनुगमन गरी दुःख दिने काम गरेको बताए ।
आजदेखि काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।
महासङ्घको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति चयन शनिबार हुने महासङ्घले जनाएको छ । सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको तयारी भएको बताइएको छ ।