काठमाडौं । कोरोना भाइरस महामारीपछि उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा नआउने भएका छन् ।
केन्द्रीय बैंकले मंगलबार कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बन्दै गएको जानकारी दिएको हो । सर्वेक्षण नतिजाअनुसार गत असारको तुलनामा मंसिरमा उद्योग/व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मक रूपमा सुधार देखिएको हो ।
यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो ।

असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा समेत सुधार आएको छ । यद्यपि, कोभिड–१९ पूर्वको अवस्थामा उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको र थप कर्जा पाउन समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
‘गत असारको तुलनामा आकारअनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ ‘साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको सञ्चालनमा उल्लेख्य सुधार आएको छ ।’
गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारीअघिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ ।

असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअघिको अवस्थामा भने पुग्न नसकेको अध्ययनले देखाएको छ । कोभिड महामारीअघिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्टको बाहुल्यता रहेको यस क्षेत्रले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती भएको अनुमान छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारीअघिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि, असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको जनाएका छन । यस्तै थप कर्जा प्राप्त गर्न कठिनाइ भएको सर्वेक्षणमा सहभागी उद्योगीहरुले बताएका छन ।
