काठमाडौं। सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाअन्तर्गत सुरुङमार्ग र फ्लाइओभर बनाउन जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३० अर्ब ८ करोड नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको छ। भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको हाे।
तर, यो स्वीकृत रकम आयोजनाको कुल लागत भने होइन। यो रकम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले उपलब्ध गराउने ऋण सहायता मात्र हो। कोटेश्वर सुरुङमार्ग निर्माण आयोजनाको सम्पूर्ण लागत भने करिब ३९ अर्ब जापानी येन (३६ अर्ब ८५ करोड रुपैयाँ) अनुमान गरिएको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए। सरकारले कोटेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापन सुधार तथा सडक पूर्वाधार विकासका लागि यो ऋण लिने भएको हो।
सुरुमा कोटेश्वर इन्टरसेक्सन सुधारको लागि गरिएको प्रारम्भिक अध्ययन (प्रिपेरेटरी सर्भे) ले आयोजनाको कुल लागत करिब ३९ अर्ब जापानी येन अनुमान गरेको थियो। यो रकममा सडक पूर्वाधार, सुरुङमार्ग, फ्लाइओभर, जग्गा अधिग्रहण, भ्याट र कर्मचारीको तलबलगायत सबै खर्चहरू समावेश थिए। जापान सरकारले मुख्यगरी सिभिल कन्स्ट्रक्सन र परामर्शदाता सेवाका लागि मात्र ऋण सहायता उपलब्ध गराउँछ। सरकारले भने जग्गा अधिग्रहण, भ्याट, र आन्तरिक कर्मचारी व्यवस्थापन जस्ता खर्च आफैं बेहोर्नुपर्छ।
हाल स्वीकृत भएको ३४ अर्ब ४९ करोड जापानी येन (लगभग ३०.०८ अर्ब नेपाली रुपैयाँ) जापानले दिने ऋण सहायताको अंश मात्र हो। यसमा बाँकी रहेको ४ अर्ब ५१ जापानी येन (४ अर्ब २४ करोड ३४ लाख) रकम सरकारले नै लगानी गर्नुपर्ने छ।
जापान सरकारले मुख्यगरी सिभिल कन्स्ट्रक्सन र परामर्शदाता सेवाका लागि मात्र ऋण सहायता उपलब्ध गराउँछ। सरकारले भने जग्गा अधिग्रहण, भ्याट, र आन्तरिक कर्मचारी व्यवस्थापन जस्ता खर्च आफैं बेहोर्नुपर्छ।
ऋण सम्झौता स्वीकृत भइसकेपछि पनि आयोजना तत्कालै सुरु हुने छैन। आयोजना सुरु हुनका लागि मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालय र जापान सरकारबीच औपचारिक रूपमा ऋण सम्झौता हुनेछ। त्यसपश्चात मात्र आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, नक्सा र लागत अनुमान (डीपीआर) बनाउनका लागि परामर्शदाता छनोट गरिने पौडेलको भनाइ छ। यो प्रक्रिया पूरा हुन ८ देखि ९ महिना लाग्न सक्ने देखिने पौडेलले बताए।
‘डीपीआर तयार गर्न एकदेखि डेढ वर्ष समय लगाउन सक्छ,’ उनले भने,‘विस्तृत डिजाइन तयार भएपछि मात्र निर्माणका लागि ठेकेदार (निर्माण व्यवसायी) छनोट गरिनेछ, जुन अर्को लामो प्रक्रिया हो।’
यी सबै चरण पूरा भएर निर्माण सुरु हुन समय लाग्ने देखिन्छ। त्यसैले अहिलेको मितिबाट गणना गर्दा आयोजना पूरा हुन ६ देखि ७ वर्ष लाग्न सक्ने आयोजनाको प्रराम्भिक अनुमान पौडेलको छ। यद्यपि, यो समयसीमामा वातावरणीय अध्ययन वा अन्य प्रशासनिक ढिलाइले थप समय लाग्न सक्ने देखिन्छ।
काठमाडौं उपत्यकाको अत्यधिक जाम हुने कोटेश्वर चोकमा अब सुरुङमार्ग (कट एन्ड कभर) र दुई वटा फ्लाइओभर निर्माण हुने निश्चित भएको छ। प्रस्तावित यो परियोजनाको कुल लम्बाई करिब १ हजार ८१६ मिटर हुनेछ। यसमा सवारीसाधन प्रवेश गर्ने र बाहिरिने एप्रोच सडकहरु समेत समावेश गरिने छन्।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पौडेलका अनुसार ७ सय ५९ मिटर लामो यो फ्लाइओभरमा छिर्ने र निस्किने एप्रोच सडकहरू पनि समावेश हुनेछन्।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पौडेलका अनुसार ७ सय ५९ मिटर लामो यो फ्लाइओभरमा छिर्ने र निस्किने एप्रोच सडकहरू पनि समावेश हुनेछन्। परियोजनाको मुख्य अंशका रूपमा ७ सय मिटर लामो सुरुङमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ।
यो क्षेत्रमा निर्माण गरिने फ्लाइओभर र त्यसका एप्रोच सडकहरूको लम्बाई ३५७ मिटर हुनेछ। तर, यो डिजाइनमा लागतअनुसार फेरबदल आउन सक्ने पौडेलको भनाइ छ। यो आयोजनामा जडीबुटीदेखि तीनकुनेसम्म फैलिएको यो सुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गामुनिबाट जाने छ। यसमा सुरुङभित्र छिर्ने र बाहिर निस्किने बाटाहरू पनि जोडिने छन्।
नागढुंगा सुरुङमार्गपछिको नेपालको ठूलो पूर्वाधार परियोजनाका रूपमा हेरिएको यो योजना कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउन केन्द्रित छ। सडक विभागका अनुसार काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र कोटेश्वर हो। यो चोक काठमाडौं, ललितपुर र भक्तपुरलगायत तीन जिल्लालाई जोड्ने मुख्य विन्दु हो। यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने मुख्य मार्ग, अरनिको राजमार्ग, बीपी राजमार्गलगायत पूर्वी जिल्लामा जाने आउने सवारीसाधनको चापका कारण यहाँ दैनिक घन्टाैं जाम हुने गरेको छ। नयाँ संरचनाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रदान गर्दै घन्टाैंको जामबाट मुक्ति दिने छ।