काठमाडौं। निम्बस ग्रुपअन्तर्गतको प्रोबायोटेक इन्डिस्ट्रिजले एक वर्षमै करिब साढे ११ अर्ब रुपैयाँको व्यापार गरेको छ। खाद्यान्न र पशुखानाको व्यापारमार्फत प्रोबायोटेक इन्डिस्ट्रिजले आव २०२३/२४ मा खुद ११ अर्ब ४२ करोड १० लाख रुपैयाँ (परिस्कृत) आम्दानी गरेको हो।
आव २०२२/२३ मा उद्योगले १४ अर्ब ९३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। एक वर्षको अवधिमा प्रोबायोटेकको व्यापार २४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड १० लाख रुपैयाँ घटेको हो।
प्रोबायोटेकले सन् २०२४ मा गराएको रेटिङ इक्रा नेपालले २०२५ अगस्टमा खारेज गरेको छ। उद्योगले उक्त समय ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ कर्जा सिमा पाएर दीर्घकालिन कर्जामा एलबि माइनस र अल्पकालिन कर्जामा एफोर रेटिङ प्राप्त गरेको थियो। उद्योगले रेटिङ अपडेटमा समन्वय नगरेको भन्दै इक्राले खारेज गरिएको जानकारी गराएको छ।
सन् २००१ मा वीरगञ्जको लिपनी बिर्ता गजन्नापुरमा स्थापना भएको प्रोबायोटेक इन्डिस्ट्रिजले पशु आहार, फिड सप्लिमेन्ट, खाने तेलको प्रशोधन/शोधन र विभिन्न प्रकारका दाल तथा गेडागुडीहरूको प्रशोधन तथा बिक्री गर्छ। जसको व्यापारबाट उद्योगले आव ०२२/२१ मा ११ अर्ब १० करोड ९० लाख, आव ०२१/२० मा ८ अर्ब २५ करोड ६० लाख र आव ०२०/१९ मा ७ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ व्यापार गरेको थियो।
प्रोबायोटेक इन्डिस्ट्रिज नेपालकै सबैभन्दा ठूलो पेलेट फिड (दाना) उत्पादन गर्ने उद्योग हो। जसको वार्षिक उत्पादन क्षमता १ लाख टन छ। नेपालको पहिलो पशुदाना उत्पादक प्रोबायोटेक इन्डिस्ट्रिज निम्बस ग्रुपको ६४ प्रतिशत सेयर स्वामित्व रहेको छ।
उद्योगले ब्रोइलर र लेयर फिड जस्ता पशुदाना र खाद्य तेल, दाल र पिठो जस्ता वस्तु गरी २ खण्डमा उत्पादन गर्छ। उद्योगको सोया ६९ हजार ५ सय टन, खानेतेलको ४९ हजार टन, पिठो २३ हजार टन र दाल ३० हजार टन उत्पादन क्षमतामा रहेको छ। प्रोबायोटेकको उत्पादन बजारमा व्यञ्जन, शक्ति, शक्ति हाइ–गेन, सोयम्याक्स, सुनौलो किरण, प्रोबिट र प्रोमिन जस्ता ब्रान्ड नाममा बिक्री वितरण हुन्छ।