वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औं वार्षिक साधारणसभाबाट कार्यकारिणी समिति सदस्यद्वय गोपाल केडिया र सुबोधकुमार गुप्तालाई वीरगन्ज उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।
निर्वाचित भएका केडिया वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुन भने गुप्ता वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हुन् । एफएनसीसीआईको कार्यसमिति सदस्यहरुलाई एक कार्यक्रमका बीचमा सम्मान गरिएको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी) को अध्यक्षतामा आयोजित कार्यक्रममा अनिल पटवारीले स्वागत मन्तव्य राख्दै नेपालकै इतिहासमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारणी सदस्यमा निर्वाचित हुनु गौरवको कुरा भएको बताए ।
उनले नेपाल उद्योग वाणिज्य महासंघमा उहाँहरुको उपस्थितिले यस पर्सा/बारा क्षेत्रको आर्थिक क्रियाकलापमा थप नयाँ उर्जा थपिने र विगतका वर्षदेखि वीरगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएका आर्थिक विकासका मुद्दाहरुले दिशा पाउने अभिलाषा व्यक्त गर्दै दुबैको सफल कार्यकालका लागि बधाईसमेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घका पूर्वअध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालको चेम्बर आन्दोनमा अग्रणी भूमीका निर्वाह गरेको बताए । उनले महासङ्घको कार्यकारणी सदस्य पदमा निर्वाचित वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः गोपाल केडिया र सुबोधकुमार गुप्ताको काँधमा नयाँ जिम्मेवारी थपिएकोले निजी क्षेत्रका साझा अपेक्षालाई महासङ्घ मार्फत कार्यान्वयन गराउन ध्यानाकर्षण गराउँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
सम्मान कार्यक्रममा वीरगञ्जका खुद्रा व्यवसायीहरुको तर्फबाट अलोक जैन, उद्योगी व्यवसायीहरुको तर्फबाट डाबार नेपालका प्रबन्धक कैलाशराम चौरसिया, सङ्घको कार्यसमिति तर्फबाट कार्यसमिति सदस्य हरिगौतम, सङ्घका पदाधिकारीको तर्फबाट सचिव मनोज दास, प्रदेश नम्बर २ का प्रदेश सभासदस्य प्रह्लाद गिरी, निवर्तमान अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, संविधान सभा सदस्य अनिल रुंगटाले शुभकामना मन्तव्य राखेका थिए भने सङ्घका महासचिव माधव राजपालले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यका साथै भारतीय वाणिज्य दूतावासका वाणिज्यदूत, उद्योगी, व्यवसायी, संचारकर्मीहरुको उपस्थिति थियो ।