काठमाडौं । संवैधानिक परिषद्का प्रमुख आयुक्त तथा आयुक्तहरुको नियुक्ति सदरसँगै सेयर बजारमा गिरावट आएको छ । बुधबार बिहान ह्वात्तै बढेर २५१९.८५ अंकमा चढेको सेयर परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ६.८१ अंकले घटेर २४६६.९२ अंकमा रोकिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारीको शपथ भएको सूचना बाहिरिएसँगै घट्न थालेको हो ।
सुरुको ४० मिनेटमा बजार सूचक घटेर २४८७ मा झरे पनि फेरि बढ्ने कोसस गरेको थियो । तर, लगत्तै सरकारको विपक्षमा रहेको नेकपाको एउटा पक्ष (दाहाल–नेपाल)ले बिहीबार आमहड्तालको घोषणा गरेको गाइगुईसँगै थप घटेको छ ।
आधिकारिक रुपमा दाहाल नेपाल समूहको जानकारी सहतहमा आएपछि भने बजार तीब्र रुपमा घटेको छ । यद्यपि, कारोबारको अन्तिम समयतिर फेरि सम्हालिने कोसिस भने गरेको छ ।
आफ्नै सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि गत मङ्सिर ३० गते बिहान संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर बेलुका प्रधानन्यायधीश चोलेन्द्र शमशेरको समेत उपस्थितिमा पदाधिकारी सिफारिस गरेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकाय पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था रहे पनि पुस ५ गते प्रतिनिधिसभा विघटन भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संसदीय सुनुवाइ हुन सक्ने जानकारी संवैधानिक परिषदलाई दिएका थिए ।
राजनीतिक रुपमा दाहाल–नेपाल सूमह र कानुनविद्हरुले संवैधानिक निकायका पदाधिकारी अहिल्यैकै अवस्थामा नियुक्त हुन नसक्ने जिकिर गरिरहेका बेला राष्ट्रपति भण्डारीले बुधबार बिहान उनीहरुलाई शपथ गराएकी थिइन् ।
आगामी माघ २८ गते उपत्यकामा आमसभा गर्ने घोषणा गरेको दाहाल नेपाल समूहले एकाएक बुधबारै बिहीबार आमहाड्ताल गर्ने निर्णय गरेको थियो । त्यसको असर बुधबारको सेयर सूचकमा परेको छ । सोमबार र मंगलबार साथै बुधबारको पहिलो सत्रमा पनि बजार बढेर उचाइ कायम गरेका बेला देखिएको राजनीतिक घट्नाक्रमको असर नेप्सेमा परेको छ ।
नेप्से प्याट्रनमा बुधबार सुरुआती यू त्यसपछि एल, भी र अन्तिमको यू आकार बिहीबार आमहड्तालका बाबजुत सेयर बजारले उचाइ लिने सम्भावना छ । यद्यपि, बिहीबार बुधबारको अनरेकडेर्ड उचाइलाई उछिन्न भने गाह्रो छ । लगानीयोग्य वातावरण नभएका कारण अन्य क्षेत्र खुम्चिएको, सेयर धितोमा कर्जा दिन बैंक तथा वित्तीय संस्था आक्रामक भएको, ब्याजको आधार घट्दै गएर समग्र ब्याजदर घट्दै गएको, सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि सोचेअनुरुप नबिग्रिएकोजस्ता कारणले बजार अझै चलाएमान हुने अवस्था देखिन्छ । त्यसलाई कारोबार रकमले पनि साथ दिँदै आएको छ ।
बुधबार ९ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन अधिकांश लघुवित्तसहित जलविद्युत् र बैंकिङ समूहका केही कम्पनीहरुको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स (७.८८) र नारायणी डेभलपमेन्ट बैंक (४.३९) प्रतिशत घटेका बाहेक अन्य कम्पनीहरुको ४ प्रतिशतभन्दा कमले सेयर मूल्य झरेको छ । यद्यपि, बैंकिङ, जलविद्युत्, लघुवित्त र म्युचुअल फण्डको समूह सूचक सामान्य बढेको छ भने अन्य समूह सूचकहरु घटेका छन् । अधिकांश समूह सूचक घटेपछि त्यसको असर नेप्सेमा परेको हो ।