काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न १८ ओटा संस्थागत लगानीकर्ता योग्य भएका छन् । यस अघि ४६ ओटा संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति पाएकोमा माघ २० गते थप १८ ओटा कम्पनीले स्वीकृति पाएका हुन ।
बोर्डले भेन्चर क्यापिटल प्रालि, एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, सायन होल्डिङ्ग कम्पनी प्रालि, नागरिक लगानी कोष, नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नबिल ब्यालेन्स्ड फण्ड २, नबिल इक्वीटी फण्ड, एनएमबि क्यापिटल लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि ५०, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड एनआईसी एशिया डायनामिक डेप्ट फण्डलाई स्वीकृति प्रदान गरेको हो ।
यसैगरी बोर्डले एनएमबि बैंक लिमिटेड, नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड, सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेड, नागरिक स्टक डिलर कम्पनी लिमिटेड र सिटी एक्सप्रेस इन्भेष्टमेण्ट फण्ड प्रालिलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको हो । हालसम्म ६४ ओटा कम्पनीले बोर्डबाट संस्थागत लगानीकर्ताको स्वीकृति प्राप्त गरेका छन् ।
बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यता प्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू. १० करोड भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था बोर्डले गरेको छ ।
बोर्डले गत भदौ ३ गते सूचना जारी गरी बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयर खरीदका लागि योग्य संस्थागत लगानीकर्ताको स्वीकृति लिन आग्रह गरेको थियो ।
बोर्डले स्वीकृति प्रदान गरेका योग्य संस्थागत लगानीकर्ताहरुले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिका वितरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी आईपीओको उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने बताएको छ ।
गत साउन २८ गतेदेखि लागू भएको यस विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्कासन गर्नुपर्ने हुन्छ ।
बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
यो विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा विक्री हुदाँ कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।
कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ ।