काठमाडौं । म्याग्दीको नारच्याङस्थित निलगिरी खोलामा एकै साथ दुई जलविद्युत् आयोजना निर्माणधिन छन । १०९ मेगावाट क्षमताको निलगिरी–१ र –२ जलविद्युत् आयोजना निर्माण तीव्र रुपमा अघि बढेको हो । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
मिस्ट्री र रेले खोलाको दोभानस्थित दोभिल्नामा बन्ने निलगिरीखोला–२ जलविद्युत् आयोजनाको बाँधबाट विसं २०७४ देखि पहुँचमार्ग खन्न शुरु गरेको थियो । निलगिरीखोला–१ जलविद्युत् आयोजनाको बाँध रहने हुमखोला जोड्ने पहुँचमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका इञ्जिनीयर केशव वाग्लेले बताए ।
‘‘अधिकांश ठाउँमा अक्करे पहाड फुटाएर १० किलोमिटर दूरीको पहुँचमार्ग निर्माण भइसकेको छ’’, उनले भने, ‘‘थप एक किलोमिटर पहुँचमार्ग खनेपछि हुमखोला सडक सञ्जालमा जोडिन्छ ।’’
बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । पहुँच मार्गको साथै बाँध, सुरुङ र विद्युत् गृह निर्माणको काम पनि धमाधम गरिरहेको इञ्जिनीयर वाग्लेले जानकारी दिए । हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको ७१ मेगावाट क्षमताको निलगिरी दोस्रोको ५ किलोमिटर ५०० मिटरमध्ये चार वटा अडिटबाट १ हजार ३५० मिटर सुरुङ खनी सकिएको छ ।
थप १ वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको निलगिरी दोस्रोको छोटेपामा बाँध र दोभिल्नामा विद्युत् गृह निर्माण सुरु भएको छ ।
३८ मेगावाट क्षमताको निलगिरी पहिलोको छोटेपामा विद्युत् गृह निर्माण शुरु भएको छ ।
३ किलोमिटरमध्ये २०० मिटर सुरुङ खनिसकेको छ । रानीवासमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनालाई लगानी जुटिसकेको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए।
सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करीब १ हजार मजदूर परिचालन भएका छन् । निलगिरी पहिलोको विद्युत् गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणको पनि तयारी गरेको छ ।
दुवै आयोजना नदी प्रवाहित (‘रन अफ द रिभर) प्रकृतिका हुन् । विसं २०४३ मा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण भएको नारच्याङमा गत वर्ष ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण भएको थियो ।
मिस्ट्रिखोला जलविद्युत्को परीक्षण उत्पादन हुँदै
यसैगरी ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेँशीगाउँदेखि लेकगाउँ हुँदै रेलेखर्कसम्म १४ किलोमिटर पहुँच मार्ग खनी सकेको छ ।
चिनियाँ लगानीमा निर्माण हुने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणस्थल पनि नारच्याङ नै हो । १२ मेगावाट क्षमताको मिस्ट्रिखोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको पनि सर्वेक्षण भइरहेको छ ।