बागमती। जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारी जुटेका छन्।
आगजनीबाट जलेको कोठालाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो। उपमहानगरको राजस्व संकलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवा प्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरका राजस्व शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिए।
‘आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ,’ उनले भने, ‘कोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ।’
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले उपमहानगरमा तोडफोड तथा आगजनी गरेका थिए। सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ। यस्तै, उपमहानगरको सवारी साधनसमेत क्षति भएको थियो।
क्षतिको विवरण संकलनको काम भइरहेको उपमहानगरको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताउँछन्। ‘आगजनीबाट उपमहानगरको मूल कार्यालयसँगै छ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारी साधन जलेर नष्ट भएको,’ उनले भने, ‘क्षतिको विवरण विभिन्न शाखाहरुबाट संकलन भइरहेको र प्राविधिकबाट प्नि क्षतिको मूल्यांकन भइरहेको छ।’
सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के कति क्षति भएको थाहा हुने उनको भनाइ छ।