काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास गर्न राष्ट्रिय पुनर्निर्माणप्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा
ठेकेदारहरुले आज तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।
भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता इन्ट्याच केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो ।
ललितपुर महानगरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।
भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारतले नेपालसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् । नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारतले प्रतिबद्घता गरेको ५ करोड अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन ।
करिव ६२ करोड ६ लाख रुपैयाँको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ । कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम् विकासका लागि करिब ४५ करोड ६ लाख रुपैयाँ लाग्नेछ ।
दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ ।
यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि इन्डियन नेसनल टष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेजलाई परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा इन्ट्याचले नेपालका अधिकारीहरुसँग मिलेर काम गर्नेछ ।
बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो ।
करिब ३३ करोड ४ लाख रुपैयाँको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ । यसअघि
सन् २०१९ नोभेम्बरमा भारतले बुढानीलकण्ठ मन्दिरका लागि करिब २ करोड १८ लाख रुपैयाँमा मठाधीशको निर्माण गरेको थियो ।